युभेन्ट्स कोपा इटालियाको फाइनलमा



लन्डन, एजेन्सी ।

अवे गोलको आधारमा युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार युभेन्ट‌्सको मैदान आलेज एरेनामा दर्शकबिना भएको सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरी टुङ्गिए पनि यसअघि अवे गोल गरेको आधारमा युभेन्ट्सले फाइनलमा स्थान बनाएको हो । सेमीफाइनलको पहिलो लेगमा एसी मिलानसँग उसैको मैदानमा १(१ को बराबरी खेल्दा युभेन्ट्सले अवे गोल गरेका थिए ।

शुक्रबारको खेलको १५ औं मिनेटमा युभेन्ट्सले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर, रोनाल्डोले पेनाल्टीमा गोल गर्नबाट चुके । उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । खेलमा दुवै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।

युभेन्ट्सले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १-० को जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्