तीन महिनापछि बार्सिलोनाले खेल्दै



न्युज अफ नेपाल ।

कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल तीन महिनापछि सुचारु हुँदा लिग लिडर बार्सिलोनाले आज राति आफ्नो पहिलो खेल खेल्दैछ ।

बार्सिलोना ९६ दिनपछि पहिलोपटक मैदानमा फर्किन लाग्दा पहिलो म्याच मालोर्कासँग उसकै मैदानमा खेल्दैछ। हाल अंक तालिकामा बार्सिलोना २७ खेलपछि ५८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । शनिवार राति हुने खेलमा बार्सिलोना स्पष्ट जित निकालेर उपाधि होडमा थप अग्रता लिने दाउमा हुनेछ ।

यदि आज मालोर्कालाई गोलअन्तरमा हराउन सके बार्सिलोनाले दोस्रो स्थानको रियल मेड्रिडलाई एक खेल बढी खेलेर ५ अंकले पछि पार्नेछ । तर, पराजित वा बराबरी भए त्यसको सोझो फाइदा रियल मेड्रिडलाई पुग्नेछ ।

लामो समय फुटबल ठप्प भएर हुन लागेको पहिलो खेलमा आज बार्सिलोनाको टोलीका सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । जसमा यसअघि चोटका कारण ८ खेल गुमाएका लुइस स्वारेज फिट हुँदै मैदान फर्किंदैछन् । त्यस्तै, आक्रमण लाइनमा कप्तान लिओनल मेसीसँगै एन्टोनी ग्रीजम्यान र मार्टिन ब्रेथवेट पनि बार्सिलोनाको टोलीमा उपलब्ध हुनेछन् ।

ला लिगाका खेल यसअघि झैं टिभी–च्यानलमा प्रत्यक्ष प्रसारण हुनेछैन । लिगका हरेक खेल ला लिगाको अफिसियल फेसबुक पेजबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्