ला लिगा सुचारु, सेभिया विजयी



न्युज अफ नेपाल, काठमाडाैँ

कोरोना भाइरस छिचोल्दै तीन महिनापछि सुचारु भएको स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । कोरोनाअघि अन्तिम खेल भएर ला लिगा ठप्प भएको ९२ दिनपछि पुनः फुटबल हुँदा सेभियाले पहिलो खेलमा आफ्नै सहरको क्लब रियल बेटिसमाथि २–० को जित निकाल्यो ।

बिहिवार राति आफ्नो घरेलु मैदान रामोन सान्चेज पिज्जुवान रंगशालामा सेभियालाई जिताउन लुकास ओकम्पास र फर्नान्डोले एक–एक गोल गरे । दर्शकबिनाको बन्द रंगशालामा भएको खेलमा सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफको १०औं र १९औं मिनेटमा सेभियाले गोल गर्ने मौका पाए पनि चुकेको थियो । तर, दोस्रो हाफको ५६औं मिनेटमा सेभियाले खेलमा अग्रता लियो । ओकम्पसले पेनाल्टीमार्फत् गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

मार्क बार्टाले लुक डि जोङमाथि फउल गरेपछि रेफ्रीले भिएआररको मद्दतमा सेभियालाई पेनाल्टी मौका दिए, जसमा ओकम्पसले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि खेलको ६२औं मिनेटमा ओकम्पसकै कर्नर प्रहार सदुपयोग गर्दै अनर्माक रहेका फर्नान्डोले सुन्दर हेडिङमा गोल गरेपछि खेलमा सेभियाले दोहोरो अग्रता लियो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल सेभियाले २–० ले जित्यो । जितसँगै सेभियाले २८ खेलपछि ५० अंक जोडेको छ । पराजित बेटिस भने ३३ अंकसहित १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्