जोसुआ र फ्युरीबीच दुई फाइट हुने



लन्डन, एजेन्सी ।

ब्रिटिस विश्व हेभिवेट बक्सरद्वय एन्थोनी जोसुआ र टाइसन फ्युरीबीच दुई फाइट हुने भएका छन् । यी दुईबीच फाइट हुने बक्सिङ्ग प्रबद्धर्क एडि हर्नले पुष्टि गरेका हुन् । आर्थिक पाटो र सैद्धान्तिक रुपलाई लिएर दुवै बक्सर फाइट गर्न सहमतिमा पुगेको बताइएको छ ।

तर, अर्का प्रबद्धर्क फ्रान्क वारेनले भने यी दुवैले एक अर्काविरुद्ध भिड्नु अघि अन्य मुक्केबाजहरु सँग तय गरिएका फाइट पहिले खेल्नु पर्ने बताए । गत डिसेम्बरमा आफ्ना उपाधिहरु सुरक्षित गरेका जोसुआले कोरोना भाइरसपछि खेल सुचारु हुँदा उनलाई चुनौती दिएका बुल्गेरियन बक्सर कुब्रत पुलेभको सामना गर्नुपर्नेछ ।

त्यस्तै, फेब्रुअरीमा डब्लुबीसी उपाधि जितेका फ्युरी एकपटक फेरि डियोन्टे वाइल्डरसँग भिड्नेछन् । अन्तर्राष्ट्रिय व्यवसायिक बक्सिङ्गमा हेभिवेट तौल समूहको बक्सिङ्गलाई सबैभन्दा प्राथमिकतामा राखिने गरिन्छ । जोसुआ र फ्युरी दुवै हेभिवेट च्याम्पियन बनिसकेका छन् ।

३० बर्षीय जोसुआको नाममा डब्लुबीए, आईबीएफ र डब्लुबीए उपाधि रहेका छन् भने ३१ बर्षीय फ्युरी डब्लुबीसी च्याम्पियन हुन् । यी दुवैबीचको भिडन्त आगामी वर्ष साउदी अरेबियामा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्