एन्फा अध्यक्षप्रति मधेसी आयोग नरम



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई मधेशी आयोगले एक पटकलाई सचेत गराउने भन्दै नरम ब्यवहार देखाएको छ ।

केही दिनअघि एन्फा अध्यक्षले भुलवश गरेको गल्ती स्वीकारेको र आगामी दिनमा त्यस्ता भ्रमित अभिब्यक्ति नदोहोर्‍याउन भन्दै मधेशी आयोगले सचेत गराएको छ ।

मधेशी आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दे एन्फा अध्यक्षलाई राष्ट्रभित्र आन्तरिक कलह निम्त्याउने अभिब्यक्ति नदिन र त्यस्ता गतिविधि आगामी दिनमा नदोहोर्‍याउनका लागि सचेत गराएको छ ।

संसदसम्म शेर्पाको अभिब्यक्तिको विरोध भएकोमा आयोगको ध्यानाकर्षण भएको र सोही आधारमा आयोगमा विभिन्न उजुरी परेकोले छानविन गरिएको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए ।

उनले शेर्पा आफै आयोगमा आएर स्पष्टिकरण दिनु सकारात्मक देखिएको भन्दै एक पटकलाई सचेत मात्र गराउने निर्णय लिएको बताए ।

यसअघि एन्फा अध्यक्ष शेर्पाले विज्ञप्ति जारी गर्दै आफ्नो मनसाय कसैको सम्मानप्रति लक्षित नरहेको भन्दै आममाफी समेत मागेका थिए ।

केही समयअघि शेर्पाले अमेरिकाबाट सञ्चालन हुने एक नेपाली अनलाईनलाई फेसबुक मार्फत अन्तरवार्ता दिने क्रममा तराईका मानिसहरुमा राष्ट्रियताको कमी देखिएको र फुटबल मार्फत राष्ट्रियता सिकाउने विवादास्पद अभिब्यक्ति दिएका थिए ।

अध्यक्ष दत्तले शेर्पाको स्पष्टिकरणलाई आयोगको छानविन समितिले एकपटकलाई सचेत गराउने र पुन: दोहोरिएमा कारवाहीको सिफारिस गर्ने चेतावनी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्