विश्वका यी खेलाडीहरु अरबपति



लन्डन, (एजेन्सी)

खेलाडीले जति कमाएपनि अरबपतिको सूचीमा पर्न निकै कठिन छ । विश्वमा अरबपति खेलाडीको सूची केलायो भने औंलामा गन्न सकिन्छ । केवल चार खेलाडी अहिलेसम्म अरबपति छन्, जसमा भर्खर मात्रै क्रिस्टियानो रोनाल्डो अरबपति खेलाडीको क्लबमा पुगेका छन् ।

यसअघि अरबपति खेलाडीको क्लबमा तीन जना खेलाडी रहेका थिए । उनीहरु हुन् बक्सर फ्लोइड मेवेदर, बास्केटबलका माइकल जोर्डन र गल्फका राजा टाइगर वुड्स । उनीहरुको बैंकमा अरबौं रकम छ ।

क्रिस्टियानो रोनाल्डो
अरबपति खेलाडी बन्नेमा क्रिस्टियानो रोनाल्डो पहिलो फुटबलर हुन् । गत वर्ष ८५ मिलियन पाउन्ड कमाएपछि यी युभेन्टस्का खेलाडी अरबपति बनेका हुन् । यद्दपि कोरोनाभाइरसको कारण उनको कमाइको केही प्रतिशत रकम कटौती गर्दा पनि ३५ वर्षीय खेलाडीलाई अरबपति बन्नमा बाधा भएन ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पारिश्रमिकबाट मात्रै पनि ५ सय मिलियन आम्दानी गर्छन् । रोनाल्डोसँग १६ मिलियन पाउन्डको गाडीहरु संकलित छन् । उनलाई नाइकी, हर्बालाइफ, डाजन र युनिलिभर जस्ता विश्वका उत्पादनकर्ताले प्रायोजन गरेको छ । खेलमा सक्रिय भएको हुनाले १ बिलियन डलरमा पुगेका रोनाल्डोको सम्पक्ति अझै बढ्दै जानेछ ।

टाइगर वुड्स
सेक्स काण्ड भएर करियर ढलानमा पर्नुअघि टाइगर वुड्स प्रायोजकहरुका सपना थिए । उनी र रोजर फेडेरर दुई जना मात्रै सक्रिय खेलाडी हुन्, जसले एकै वर्षमा प्रायोजकबाट १ सय मिलियन डलर कमाए । फोब्र्सको अनुसार वुड्स सन् २००९ मै अरबपति बनेका थिए ।

४४ वर्षीय गल्फरले सेक्स काण्ड र उनको गाडी दुर्घटना भएर घर बस्नु पर्दा धेरै वटा प्रायोजक गुमाउनुपरेको थियो । जसमा जिलेट र अमेरिकन एक्सप्रेस दुई प्रमुख प्रायोजक समेत थिए । दर्जनौं महिलासँग उनको सम्बन्ध भएको दावी गरिएपछि १५ प्रमुख उपाधि जितेका वुड्सको महगो डिभोर्स भएको थियो ।

सो डिभोर्समा उनले उनकी पूर्व श्रीमती एलीन नर्डेग्रेनलाई ८० मिलियन पाउन्ड तिर्नु परेको थियो । धेरै वर्षको ग्यापमा गत वर्ष उनले मास्टर्स प्रतियोगिता जितेका थिए । हाल उनीसँग करिब ६ सय ३० मिलियन पाउन्ड (नेपाली रकम ९६ अरब) को सम्पत्ति छ ।

फ्लोइड मेवेदर
बक्सिङबाट संन्यास लिइसकेका फ्लोइड मेवेदरसँग निकै सम्पत्ति छ । उनले हालै मात्र प्रहरीद्वारा मारिएका जर्ज फ्लोइडको अन्तिम संस्कारका लागि रकम बेहोरिदिने घोषणा गरेका छन् । सन् २०१७ मा कोनोर म्याकग्रेगोरविरुद्ध अन्तिम प्रतिस्पर्धा गरेर २ सय ७५ मिलियन डलर कमाएपछि उनी अरबपति बने ।

फोब्र्सको अनुसार उनी सन् २०१८ मा सर्वाधिक कमाउने सेलेबे्रटी बन्नुका साथै सबैभन्दा धनी खेलाडी बनेका थिए ।

मेवेदरसँग २० मिलियन पाउन्ड मूल्यको सुपर कार छ । उनको लस एन्जल्समा भएको महलको मूल्य १९ मिलियन पाउन्ड पर्छ । सो महलमा १० बाथरुम, २० जना बस्ने हुने नीजि सिनेमा कोठा र उनको लन्डन फ्ल्याट भन्दा ठूला मास्टर बेडरुम रहेका छन् । उनीसँग ५० मिलियन पाउन्डको नीजी विमान छ ।

मेवेदरको सम्पत्ति देखेर उनलाई मनी मेवेदर भनेर उपनाम समेत दिइएको छ । रेसलमानिया र डान्सिङ वीथ द स्टार्समा सहभागि भएर उनी मनी मेकिङ मेसिन बनेका थिए । उनीसँग हाल ४ सय मिलियन पाउन्डको सम्पत्ति रहेको छ । यो भनेको नेपाली रकम ६१ अरब भन्दा बढी हुन आउँछ ।

माइकल जोर्डन
बास्केटबलका यी जादुगरी माइकल जोर्डन पहिलो अरबपति खेलाडी हुन् । माइकल जोर्डनलाई धनी बनाउन नाइकीबाट २.५ बिलियन प्रति वर्ष मोटो रकम आउनु हो । यो भनेको हालका एनबीए आइकन लेब्रोन जेम्सको कमाइ भन्दा चौबर बढी हो । शिकागो बुल्सका पूर्व खेलाडी जोर्डनले गत वर्ष प्रति घण्टा २७ हजार ७ सय ८० पाउन्ड कमाउने गरेका थिए ।

सन् २०१३ मा संन्यास लिएपनि जोर्डनले कुनै न कुनै रुपमा लगातार कमाइरहेका छन् । हाल ५७ वर्षमा लागेका जोर्डनसँग १ अरब ६६ करोड पाउन्डको सम्पत्ति रहेको छ ।

यो भनेको नेपाली रकममा खरबौं हुन आउँछ । उनको सम्पत्ति भएर होला प्रायजसो समय सिगार तान्नु, गल्फ खेल्नु र आफ्नै टेक्वीला (बीयर) उत्पादन कम्पनीमा रमाएर बित्छ । टेक्वीला एक बोटलको १४ सय पाउन्ड (नेपाली रकम २ लाख भन्दा बढी) पर्छ ।

प्रतिक्रिया दिनुहोस्