६ सय गोल कटाउने गोल मेसिनहरु



न्यूयोर्क, एजेन्सी ।

हाल विश्वस्तरिय क्लब फुटबलमा आफ्नो गोल संख्या ६ सय कटाउने सक्रिय फुटबलरको नाम लिंदा अर्जेन्टिनाका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई सम्झिने गर्छन् । क्लबबाट खेलेका मैत्रीपूर्ण म्याचमा गरेको गोल बाहेक मेसीले स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट अहिलेसम्म ६ सय २७ गोल गरिसकेका छन् ।
सोही पथमा अहिले मेसीभन्दा एक गोलले मात्र पछि छन् पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । उनले अहिलेसम्म चार वटा क्लबबाट खेलेका छन् । स्पोर्टिङ्ग सीपी, म्यानचेस्टर युनाइटेड, रियल मेड्रिड हुँदै हाल इटालियन सिरी ए क्लब युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले चारवटै क्लबबाट गरी कुल ६ सय २६ गोल गरेका छन् ।

ब्यालोन डे ओर र फिफा वर्ष खेलाडी अवार्ड विगत एक दशकभन्दा अघिदेखि पालैपालो कब्जा गर्दै आएका यी दुई फुटबलका धुरन्धर सहित विश्वस्तरीय क्लब फुटबलमा ६ सय गोलको कोशेढुङ्गा पूरा गर्ने फुटबलरहरुको संख्या जम्मा सात रहेको अन्तराष्ट्रिय मिडिया ‘स्पोर्ट्स बाइबल’ ले जनाएको छ ।

जसमध्ये जोसेफ बिकान, पेले, रोमारियो, गर्ड मुलरले भने मेसी र रोनाल्डोलाई पनि उछिनेका छन् । त्यस्तै, क्लबका लागि ६ सय गोल कटाउने सूचीको सातौं नम्बरमा फेरेन्क पुस्कास रहेका छन् । सुरुमा हंगेरी र पछि स्पेनिस नागरिकता लिएका पुस्कासलाई पाँचौ स्थानको मेसी र छैठौं स्थानको रोनाल्डोले पछि पारेका छन् ।

सातौं स्थानमा रहेको हंगेरियन लेजेन्ड पुस्कासले आफ्नो सक्रिय खेलजीवनमा क्लबका लागि ६ सय २२ गोल गरेका थिए । त्यस्तै, उक्त सूचीको चौथो स्थान ओगटेका जर्मन लेजेन्ड गर्ड मुलरले पनि क्लब करियरमा ६ सय ५३ गोल गरेका थिए । त्यसैगरी, सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशस् दुई ब्राजिलियन स्टारहरु पेले र रोमारियो छन् ।

नेदरल्यान्ड्सको पीएसभी आइन्डओभेन, स्पेनको बार्सिलोना तथा भ्यालेन्सिया क्लबबाट खेलेका रोमारियोको क्लब गोलसंख्या ६ सय ७९ रहेको छ । त्यस्तै, दोस्रो स्थानका पेलेले भने आफ्नो क्लब गोलसंख्या ७ सय नै कटाएका छन् । फुटबलको दुनियाँमा ‘कालो हिरा’ बाट परिचित पेलेले ब्राजिलियन क्लब सान्टोस र अमेरिकाको न्यूयोर्क कसमसबाट खेल्ने क्रममा ७ सय ७ गोलको आँकडा पूरा गरेका थिए ।

उक्त सूचीको शीर्ष स्थानमा भने चेक-अष्ट्रियन मूलका जोसेफ बिकान रहेका छन् । उनको नाम त्यति चर्चामा आउने नगरे पनि उनले क्लब करियरमा ७ सय ७७ गोल गरेका थिए ।

४२ वर्षको उमेरपछि मात्र क्लब फुटबलबाट सन्यास लिएका जोसेफले रेपिड भियना, डिनामो प्राग लगायत अष्ट्रिया र चेक रिपब्लिकका गरी करिब आधा दर्जन भन्दा बढी क्लबबाट खेलेका थिए । उनी बीसौं शताब्दीका युरोपियन क्लबका गोल मेसिनबाट समेत चर्चित छन् ।

 

प्रतिक्रिया दिनुहोस्