न्यूजिल्याण्ड अन्डर-१७ विश्वकपमा छनोट



लन्डन, एजेन्सी ।

भारतमा सन् २०२१ मा हुने फिफा महिला अण्डर १७ विश्वकप फुटबलका लागि न्यूजिल्याण्ड छनोट भएको छ ।आगामी बर्षको १७ फेब्रुअरी देखि ७ मार्च सम्म भारतमा आयोजना हुने विश्वकपका लागि न्यूजिल्याण्डले ओसिनिया क्षेत्रबाट स्थान पक्का गरेको हो ।

एक्ज्युक्टिभ कमिटी अफ ओसिनिया फुटबल कन्फेडेरेसनको निर्णय अनुसार न्युजिल्याण्ड उक्त प्रतियोगिताको लागि छानिएको हो ।

उक्त विश्वकपका लागि छनोट हुने न्युजिल्याण्ड चौथो राष्ट्र समेत बनेको छ । यसअघि एसियाबाट जापान र उत्तर कोरिया छनोट भइसकेका छन् । त्यस्तै, आयोजकको हैसियतले भारतले सोझै विश्वकपमा स्थान बनाइसकेको छ । प्रतियोगिता यसै बर्षको नोभेम्बर २ देखि २१ सम्म तय भएपनि कोरोना भाइरस महामारीका कारण अर्को बर्ष सारिएको हो ।

यसअघिका सम्पूर्ण ६ संस्करणमा पनि न्युजिल्याण्डले खेलेको थियो । जसमध्ये सन् २००८ को उरुग्वेमा सम्पन्न फिफा महिला अण्डर(१७ विश्वकपमा न्युजिल्याण्डले तेस्रो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्