२०२२ को महिला एएफसी एसिया कप भारतमा



 नयाँ दिल्ली, एजेन्सी ।

भारतले सन् २०२२ को महिला एएफसी एसिया कप आयोजना गर्ने जिम्मेवारी पाएको छ । एसियाली फुटबल महासंघले बिहिबार सन् २०२२ को महिला एएफसी एसिया कप आयोजना गर्न भारतको प्रस्तावलाई स्वीकृत गरेको हो ।

२०२२ को डिसेम्बर अन्त्यबाट शुरु हुने उक्त प्रतियोगिता जनवरी २०२३ मा सकिने छ । प्रतियोगिता अहमदाबाद र मुम्बईमा आयोजना हुने बताइएको छ । महिला एसिया कप आयोजना गर्नका लागि भारत बाहेक चाईनिज ताईपे र उज्बेकिस्तानले पनि प्रस्ताव राखेका थिए ।

यसअघि सन् १९८० मा महिला एसिया कप आयोजना गरेको भारतले ४२ बर्ष पछि फेरि एकपटक अर्को अवसर पाएको छ । यस अघि भारत सन् १९८० र १९८३ मा उपविजेता भएको थियो भने सन् १९८१ मा तेस्रो स्थान हात पारेको थियो ।

त्यस्तै भारतले एएफसी महिला एसिया कपमा पछिल्लो पटक सन् २००३ मा सहभागिता जनाएको थियो । भारतले आयोजना गर्ने एसिया कपमा आठबाट वृद्धि गरेर १२ टोलीको सहभागिता गराइने छ ।

गत फेब्रुवरीमा नै एएफसी महिला कमिटीले भारतलाई सन् २०२२ को एसिया कप आयोजना गर्नका लागि सिफारिस गरेको थियो भने एएफसीले बिहिबार यसमा निर्णय लिएको हो ।

भारतले अण्डर १७ फुटबल बिश्वकपको पनि सफलतापुर्वक आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्