निर्देशिका आयो, क्रिकेट सञ्चालन टुंगो छैन



फिरोज राजोपाध्याय, काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सुरक्षित तरिकाले क्रिकेट सञ्चालन गर्नका लागि ८ बुँदे निर्देशिका सार्वजनिक गरेको छ । कोरोनाभाइरसको कारण स्थगित क्रिकेट पुनः सञ्चालन गर्न आईसीसीले आफ्ना सदस्य राष्ट्रका लागि गाइडलाइन ल्याएको हो । तर आईसीसीले क्रिकेट कहिलेदेखि सञ्चालनमा आउने भन्ने कहीं कतै उल्लेख गरेको छैन ।

नेपालमा पनि क्रिकेट प्रतियोगिताहरू हुन सकिरहेको छैन । अहिले नै नेपाली सिनियर राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने हो । तर कोरोनाभाइरसको कारण नेपाली क्रिकेट टोलीले खेल्न पाएन । नेपालले नामिबिया र स्कटल्यान्डले डब्ल्यूसीएलअन्तर्गतका खेल खेल्नुपर्ने हो । यस्तै नेपालमै हुने घरेलु क्रिकेट प्रतियोगिताहरू पनि स्थगित गर्नुपर्ने अवस्था छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले अहिले क्रिकेट सञ्चालन गर्ने अवस्था नभएको बताउनुभयो । सचिव प्याकुरेलले बताउनुभयो– ‘अहिले त झनै कोरोना कहर बढेको छ, भयावहको अवस्था आइसकेको छ । यस्तोमा प्रत्येक नागरिकले सुरक्षित हुनु नै अहिलेको अवस्था छ ।’

आईसीसीले गाइडलाइन सार्वजनिक गरे पनि क्रिकेट खेल्ने कहिलेदेखि हुने भन्ने कुरा छैन । अन्तर्राष्ट्रिय क्रिकेट पनि पछिल्लो २ महिनादेखि ठप्प छ । भारतमा मात्रै पनि अभ्यास र प्रशिक्षणमा फर्कने कुरामा विवाद भइरहेको छ । केही खेलाडीले कोरोनाको अवस्थामा खेल्नु हँुदैन भन्ने र केही खेलाडीले खेल्नु हुन्छ भन्ने प्रतिक्रिया दिइरहेका छन् । आईसीसीको गाइडलाइन प्रकाशित भए पनि नेपालमा क्रिकेट सञ्चालन नहुने क्यानका सचिव प्याकुरेलले बताउनुभयो ।

उहाँले बताउनुभयो– ‘गाइडलाइन त सार्वजनिक भयो, तर खेलाउने आँट त गर्न सकिँदैन । लकडाउन भएको शुरूको २०–२५ दिन ठिकै थियो, तर अहिले कोरोना संक्रमण समुदायमा फैलिएको अवस्था छ । सामाजिक दूरीकै पालना गरेर खेलायौं भने पनि कम्तीमा सय जना मान्छे भेला भइहाल्छन् । १०–१२ जना राखेर खेलाउने कुरै भएन, स्टाफ, प्राविधिकदेखि लिएर खेलाडीसम्म गर्दा धेरै जनाको समूह हुन्छ । यस्तो वातावरणमा जोखिम बढी हुन जान्छ । अहिले २/३ महिना खेल हुने सम्भव नै छैन । यति समयमा सामान्य स्थिति भएमा हामीले क्रिकेट गर्ने हो नत्र भने दशैंतिहारपछि नै हुनसक्छ ।’

क्रिकेट नहँुदा धेरै असर भएको पनि सचिव प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको २ वर्ष भइसकेको छ । अहिले कोरोनाले गर्दा यसलाई पनि अगाडि बढाउन सकिरहेको छैन । कोरोना कहर नभएको भए अहिले नेपालले नामिबिया र स्कटल्यान्डसँग खेलिसकेको हुन्थ्यो । ४ वर्षदेखि रोकिएका सबै प्रतियोगिता पुनः सञ्चालन गर्ने सोचिरहेका हौं तर कहिले भन्न सकिरहेको छैन । हामीले निर्वाचित भएर क्रिकेटलाई उचाइमा पु¥याउन लक्ष्य लिएका हौं । कोरोनाले गर्दा हाम्रो लक्ष्यमा पनि ठूलै धक्का परेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्