बायर्न म्युनिख उपाधि रक्षातिर अग्रसर



न्युज अफ नेपाल, काठमाडौं ।

बायर्न म्युनिखले अवे खेलमा बाहिर बोरुसिया डर्टमन्डलाई मंगलबार १–० ले हराएर बुन्डेसलिगा उपाधि रक्षा गर्ने लगभग तय गरेको छ ।
अंकतालिकाको शीर्ष टोली बायर्न म्युनिखका लागि जोशुआ किमीचले निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफ हुन अघि करिब २० यार्ड दुरीबाट गरेको अदभुत चिप गोलमा परिणत भएको हो । दोस्रो हाफमा गोल नभएपछि बायर्न म्युनिखले महत्वपूर्ण जित हात पार्‍यो ।

यो जितसँगैं ६ खेल बाँकी रहेको स्थितिमा बायर्न म्युनिखले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डमाथि ७ अंकको अग्रता लिएको छ । डर्टमन्डका लागि भविष्यका लियोनल मेसीको उपनाम पाएका जाडोन सान्चो मैदानमा आएपनि टोलीले हार टार्न सकेन ।

बायर्न म्युनिखले लगातार आठौं लिग उपाधि जितेर कीर्तिमान राख्ने पनि निकट पुगेको छ । हाल लिभरपुलका मेनजेर यर्जेन क्लोप मेनेजर हुँदा डर्टमन्डले २०१०–११ र २०११–१२ मा उपाधि जितेको थियो । यसपछिको लगातार सात सिजनमा बायर्नले उपाधिमाथि कब्जा जमाएको छ । उनीहरु अब लगातार आठौं उपाधि जित्ने स्थितिमा छ । यदि बाँकी ६ खेलमा ४ मा जित हात पारेमा उपाधि पक्का पनि हुनेछ ।

बायर्नको यो लगातार १८औं अपराजित खेल पनि हो । पछिल्लो पटक टोलीले ७ डिसेम्बरमा बोरुसिया मोन्चेनग्लाडबाचसँग २–१ ले हार बेहोरेको थियो। बायर्नको यस सिजन राम्रो गइरहेको छ तर कोरोनाभाइरसको कारण सबै खेल स्थगित भएको अवस्था छ । बायर्न जर्मन कपको सेमिफाइनल पुगेको छ भने च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गत् पहिलो लेगमा चेल्सीमाथि ३–० को जितको फाइदा छ ।

प्रतिक्रिया दिनुहोस्