क्रिकेट सुचारुका लागि ८ बुँदे निर्देशिका जारी



लन्डन, एजेन्सी ।

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोनाका कारण गत मार्चदेखि विश्वभर ठप्प क्रिकेट गतिविधि सुचारुका लागि आठ बुँदे निर्देशिका जारी गरेको छ ।

आईसीसीले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी रोकिएको क्रिकेट सुचारु गर्ने जनाउँदै खेलाडी र टिमको निम्ति ८ बुँदे निर्देशिका जारी गरेको हो । आईसीसीले जारी गरेको निर्देशका अनुसार बलरहरूलाई टेस्ट म्याच खेल्नुअघि दुईदेखि तीन महिनाको प्रशिक्षणको आवश्यकता लिनुपर्ने भनिएको छ ।

एक अनुसन्धानका अनुसार लगातार ७ हप्तासम्म आराम गर्दा मेरुदण्डका २ प्रतिशत हड्डीहरुले राम्रो काम गर्न नसक्ने र मेरुदण्डका हड्डीहरु पुर्ण स्वस्थ हुन २४ हप्तासम्म लाग्ने भएकाले आईसीसीले बलरहरूलाई दुईदेखि तीन महिनाको प्रशिक्षण पछिमात्र खेलमा फर्कन सल्लाह दिएको हो । आईसीसीले टिमहरुलाई ठूलो स्क्वाड प्रयोग गर्न र बलरलाई धेरै अभ्यास नगराउन सल्लाह समेत दिएको छ ।

आईसीसीको निर्देशिका अनुसार प्रशिक्षण सुरु गर्न सरकारको अनुमति चाहिने र खेलाडीहरूले सरकार र आईसीसी निर्देशिकाको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै
खेल पुनः आयोजनाका लागि योजना तयार गर्न प्रमुख चिकित्सा अधिकारीको नियुक्ति हुनुपर्ने बताइएको छ ।

त्यसैगरी प्रशिक्षण र खेलका क्रममा खेलाडीहरूलाई चोटको जोखिम कम गर्न आवश्यक सावधानी अपनाउन मैदान र प्रशिक्षणस्थलको जोखिम स्तर मूल्याङन गर्नुपर्ने, सामाजिक दूरी कायम गरी यात्राका लागी चार्टर्ड विमान प्रयोग गर्नुपर्ने, टिमहरुलाई ‌परिक्षण र स्क्रीनिङ्गको नतिजा अनुसार अनिवार्य क्वारेन्टिनको पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सबै खेलाडीहरूलाई फरक कोठाहरूमा समायोजित गर्नुपर्ने, खेलाडीले प्रयोग गरेका सामानहरू साथी खेलाडीहरूसँग बाँड्न नपाउने, समूहमा प्रशिक्षण गर्नुअघि व्यक्तिगत प्रशिक्षण सुरु गर्नुपर्ने र प्रशिक्षण अथवा खेलको दौरान खेलाडीहरुले मैदानमा थुक्न र बल चम्काउन थुकको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ । आईसीसीले जारी गरेको सो निर्देशिका आईसीसीका पुर्णकालिन सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्