माटोको स्तर नपुगी सम्पन्न हुन लाग्यो मैदान



विजय नेपाली, पोखरा

पोखरा रंगशालामा निमार्णाधीन अभ्यास फुटबल मैदानमा माटोको स्तर नै नपुगी सम्पन्न हुने अवस्थामा पुगेको छ । रंगशालाको परिसरमा निर्माण भएको रंगशालामा अब पोल राख्ने काम मात्र बाँकी रहेको छ ।

गत मंसिरमा थालिएको मैदान निर्माणको कामबीचमा रोकिएको थियो । लगत्तै चैतबाटशुरू गरिएको काम ५९औं दिनमा सम्पन्न भयो । अभ्यास मैदान त बन्यो तर माटोको लेभल भने पुगेको छैन । मैदानमुनिको भागमा पूरै गेगर हालिएको छ भने माथिल्लो लेभलमा थोरै मात्रामा बालुवा राखिएको छ ।

मैदान निर्माणको सम्पूर्ण काम सम्पन्न भएको र पोल मात्र राख्न बाँकी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताए । ‘हामीले यतिसम्म गर्न सकेका हौं। केही जोहो गर्दै काम सम्पन्न गरेका छौं पहिलेको अवस्थामा अहिले मैदान राम्रो बनेको छ।’–सदस्य गुरुङले भने । ‘हामीलाई मैदान ठीकै भयो भन्ने लागेको छ, योभन्दा बढी बनाउन सकिदैंन।’–उनले भने ।

उक्त मैदानका लागि ९० लाख रुपियाँको योजना परे पनि पछि रकम भने कटौती गरिएको हो । रकम कटौती गरी निमार्ण गरिएको मैदानको अवस्था भने चाँडै जीर्ण हुने अनुमान खेलकुदकर्मीको छ ।

‘पहिले बजेट पनि परेको थियो बजेट कटौती भएको छ। माटो कहाँबाट हाल्ने माटोको लेभल पुगेको छैन पछि गएर पहिलेको जस्तै धुलाम्मे हुने स्थिति देखिएको छ।’ –एक खेलाडीले बताए । मैदानका लागि ९० लाख परे पनि ३० लाख रुपियाँको काम सम्पन्न भएपछि अन्य रकम भने कटौती गरिएको हो । फुटबल क्षेत्रको विकासका लागि आवश्यक रहेको उक्त मैदानमा प्रदेशस्तरीय खेलहरूसमेत सम्पन्न गर्न सकिन्छ ।

२०६४ सालमा निर्माण गरिएको उक्त मैदान दीर्घकालीन भने हुन सकेन । त्यतिबेला निर्माण गर्दा समेत गेगर र पाँगो माटोको कारणले मैदान धुलाम्मे हुन पुगेको थियो । करिब डेढ दशकपछि मुहार फेरिरहेको मैदानको अवस्था पुनः सोही किसिमको हुने हो कि भन्ने आशंकासमेत पैदा भएको छ ।

२०६४ सालमा निर्माण भएको मैदान खेल्न मिल्ने अवस्थाको भने थिएन । पूरै धुुल्लाम्मे हुने र गिटी तथा गेगर मात्र निस्किने गथ्र्यो । अहिलेको अवस्था पनि उस्तै किसिमको छ, जहाँ माटोको मात्रा पुगेको छैन । यसले गर्दा खेलाडीले पुनः सोही स्तरको तर केही सम्याएको मैदानमा खेल्न बाध्य हुने देखिएको छ । निर्माण सम्पन्न हुन लागेको मैदानको बारेमा सोचेर काम नगर्ने हो भने मैदान पहिलाको जस्तै जीर्ण हुन कुनै समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्