विश्वकै धनी महिला खेलाडी बनिन् ओसाका



लन्डन, (एजेन्सी)

जापानी टेनिस स्टार नाओमी ओसाका विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी छन् । फोब्र्स म्यागेजिनले जनाएअनुसार ओसाकाले सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा शीर्ष स्थान हासिल गरेकी हुन् ।

योसँगं उनले अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई विस्थापित गरिन् । २२ वर्षीया ओसाकाले पछिल्लो १२ महिनामा पुरस्कार रकम र विज्ञापनबाट ३० दशमलव ७ मिलियन पाउन्ड कमाएकी छन् ।

अहिलेसम्म करियरमा दुईवटा ग्रान्डस्लाम जितेकी ओसाकाले ३८ वर्षीया विलियम्सको भन्दा १ दशमलव १५ मिलियन पाउन्ड बढी आर्जन गरेकी छन् । विलियम्स आधुनिक टेनिसमा सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने पहिलो महिला खेलाडी हुन् । उनले अहिलेसम्म २३ ग्रान्डस्लाम हात पारिसकेकी छन् । उनी २४औं ग्रान्डस्लाम जितेर सर्वाधिक ग्रान्डस्लाम जित्ने मार्गेरेट कोर्ट बराबरी गर्न अग्रसर छिन् ।

यी दुवै धनी टेनिस खेलाडीले रुसकी मारिया सारापोभाले सन् २०१५ मा एकै वर्षमा २४ दशमलव ४ मिलियन पाउन्ड कमाएर राखेको विश्व कीर्तिमान भंग गरेका छन् । सन् १९९० देखि महिला खेलाडीको आम्दानी रेकर्ड राख्दै आएदेखि टेनिस खेलाडीले नै शीर्ष स्थान हासिल गर्दै आएका छन् ।

फोब्र्सले २०२० का विश्वका १ सय धनी खेलाडीको सूची सार्वजनिक गर्दा ओसाका २९औं स्थानमा रहेकी छन्, जबकि उनीभन्दा माथिका २८ धनी खेलाडी सबै पुरुष रहेका छन् । विलियम्स ३३औं स्थानमा छिन् । ओसाका र विलियम्सले सन् २०१८ मा यूएस ओपन ग्रान्डस्लाम फाइनलमा भिडेका थिए ।

न्युयोर्कमा भएको खेलमा विलिम्यसले अम्पायरलाई चोर ठग भनेर चिच्याउँदा उनको निकै आलोचना भएको थियो । जापानी खेलाडीको भने यो नै करियरको पहिलो ग्रान्डस्लाम उपाधि थियो । यसको लगत्तै २०१९ मा उनले अस्टे«लियन ओपनका रूपमा दोस्रो ग्रान्डस्लाम जितेकी थिइन् ।

विलियम्स पछिल्लो चार वर्षमा विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी थिइन् । यसअघि मारिया सारापोभाले लगातार ५ वर्ष विश्वकै सर्वाधिक धनी महिला खेलाडी बन्न सफल भएकी थिइन् । ओसाका भने पहिलोपटक विश्वकै सर्वाधिक धनी महिला खेलाडी बन्न सफल भएकी छन् । उनी जापानमा विभिन्न कम्पनीका लागि लोकप्रिय खेलाडी हुन् । उनले नाइकी, निसान र योनेक्सजस्ता विश्वव्यापी प्रसिद्ध रहेका कम्पनीसँग विज्ञापन सम्झौता गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्