जुनमा ला लिगा सुचारु हुने



मेड्रिड, एजेन्सी ।

कोरोना भाइरसको महामारीका कारण पछिल्लो दुई महिनादेखि स्थगित स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि सुचारु हुनेभएको छ ।

स्पेनका विभिन्न सञ्चार माध्यमले गत मार्चबाट स्थगित ला लिगाका म्याचहरु जुनको १२ तारिखबाट सुचारु हुने उल्लेख गरेको छ । पहिलो खेल सान्चेज पिजुअनमा सेभिया र रियल बेटिसबीचको डर्बी म्याचबाट लिग सुचारू गर्ने तयारी भइरहेको बताइएको छ ।

स्पेनिस पत्रिका मार्काले मार्चदेखि रोकिएको लिग सुरु गर्न यो नै उपयुक्त समय भएको उल्लेख गरेको छ । ला लिगामा अब ११ चरणका खेलहरु बाँकी छन् । बाँकी खेलको तालिका २८ मे सम्ममा लिग कमिटीले तयारी गरी सोही दिन नै सबै क्लबलाई उपलव्ध गराउने छन् ।

मार्काका अनुसार जुन १२ मा पुनः सञ्चालन हुने ला लिगाको नयाँ मिति सार्वजनिक भएपछि सबै क्लबले खेलाडीको स्वास्थ्य परिक्षण लगायतका काम सकेका छन् । बिनादर्शक सञ्चालन हुने सो लिग खेलमा विभिन्न स्वास्थ्य सम्बन्धी नियमको कडा रुपमा पालना गर्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्