ओसाका सर्वाधिक कमाउने महिला खेलाडी



लन्डन, एजेन्सी ।

जापानकी टेनिस खेलाडी नाओमी ओसाका बिश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बन्न सफल भएकी छन् ।

विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार बितेको एक बर्षमा ओसाकाले जितेका प्रतियोगिताहरु र प्रायोजकहरुबाट ३०।७ मिलियन पाउण्ड कमाएको उल्लेख गरिएको छ । जुन एक वर्षभित्र महिला खेलाडीमध्ये कै सर्वाधिक आम्दानी भएको बताइएको छ ।

२२ बर्षिया ओसाकाले दुई पटक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता जितिसकेकी छिन् । बिश्वबिख्यात ब्राण्ड नाइकी, निसान र योनेक्स सहित ओसाकाले अन्य थुप्रै प्रायोजकहरुसँग महँगो सम्झौता गरिसकेकी छिन् ।

यस क्रममा ओसाकाले अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पछाडी पारेकी छिन् । ओसाकाले कमाएको रकम ३८ बर्षिया विलियम्सले पछिल्लो १२ महिनामा कमाएको भन्दा १।१५ मिलियन पाउण्डले बढी हो । ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपन पनि जितेकी थिइन् । तर, लगातार लय गुमाउन थालेपछि उनी बिश्व नम्बर १ बाट १० मा झरिसकेकी छिन् ।

१९९० मा फोर्ब्सले महिला खेलाडीहरुको कमाइको तथ्यांक राख्न थालेदेखि टेनिस खेलाडीहरुले यो सुचीमा एक छत्र राज गर्दै आइरहेका छन् । ओसाका फोर्ब्सले तयार पारेको सबैभन्दा बढी कमाउने १ सय खेलाडीहरुको सुचीमा २९ औं स्थानमा रहेकी छिन् । २३ पटककी ग्राण्ड स्ल्याम बिजेता विलियम्स भने ३३ औं स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्