वेस्ट इन्डिजका कर्मचारीको तलब काटिने



लन्डन, एजेन्सी ।

क्यारेबियन राष्ट्र वेस्ट इन्डिजको क्रिकेट बोर्डले आफ्ना कर्मचारीको तलब कटौती गर्ने भएको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख रिकी स्केरिटले आर्थिक समस्याबाट गुज्रिरहेको वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्ना कर्मचारीको तलब कटौती गर्ने बताएका हुन् । कोरोनाका कारण सिर्जिएको आर्थिक संकटको भार कम गर्न बोर्डलाई खर्च कटौती गर्नुपर्ने अवस्था उत्पन्न भएकाले घटाउन लागिएको बताईएको छ । त्यसको सुरुवात कर्मचारीको तलब कटौतीबाट हुने उनले बताए ।

बोर्ड प्रमुखले मे २७ तारिखमा बोर्डको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताएका छन् । साथै बैठकले टिमको अन्तराष्ट्रिय सिरीज रद्द वा स्थगित हुँदा परेको आर्थिक घाटाको पनि विश्लेषण गर्ने बताएका छन् ।

वेस्ट इन्डिजमा एक सय भन्दा बढी क्रिकेटर रहेको र उनीहरुलाई नियमित तलब दिनुपर्ने हुँदा खर्च बढिरहेको बताए । केहि समय अगाडी अफगानिस्तान र अष्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना कर्मचारीका तलब कटौती गर्ने निर्णय गरेका थिए । अफगानिस्तानले चार दिन अघि मात्र आफ्ना कर्मचारीको २५ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको थियो । यदि अफगानिस्तानको जिम्बाब्वे भ्रमण नभएमा ५० प्रतिशत तलब कटौती हुने बताइएको थियो ।

वेस्ट इन्डिजले जुनमा इंग्ल्याण्डको भ्रमण गर्ने तालिका रहेको थियो । त्यस्तै जुलाईरअगष्टमा दक्षिण अफ्रिकी टिम वेस्ट इन्डिज आउने तालिका थियो । जसमा पाँच टी-२० र दुई टेष्ट म्याच खेल्ने कार्यक्रम थियो । तर, अहिले ती सिरीज पनि नहुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्