सारा संसारको नजर बुन्डेसलिगामाथि



फिरोज राजोपाध्याय, काठमाडौं ।

युरोप र नेपालसहित सारा विश्वका फुटबल प्रेमीहरुको लागि आज शनिबारको दिन विशेष हुन गइरहेको छ । एउटा प्रयोग हुन लागेको छ, त्यो हो युरोपकै लोकप्रिय लिगमध्ये एक जर्मन बुन्डेसलिगा पुन: शुरु हुने भएको हो । सारा संसारको आँखा नै बुन्डेसलिगामाथि गढेका छन् । कोरोना भाइरसको महामारीको कारण पछिल्ला २ महिनादेखि फुटबल भइरहेको छैन । जर्मन चान्सलर एन्जेला मोर्केलले बुन्डेसलिगा सुचारु गर्न आदेश दिएपछि लिग शुरु हुने भएको हो ।

बुन्डेसलिगा फुटबलमा उपाधि दौड रोमाञ्चक स्थितिमा रहेको छ । पछिल्लो सात सिजनमा उपाधि हात पारेको बायर्न म्युनिखले आठौं पटक जित्छ किजित्दैन भन्ने जिज्ञासा भइरहेको छ । त्यस्तै बोरुसिया डर्टमन्डले बायर्नलाई उपाधिबाट विमुख बनाउने हो कि भन्ने पनि फुटबल प्रेमीले अडकल लगाइरहेका छन् । अंक तालिकाका शीर्ष दुई टोली बायर्न र बोरुसियाबीच ४ अंकमात्रै दुरी छ, दुबैले २५ चरणको खेल खेलेका छन् । अझै खेल बाँकी छ ।

तर यसमा सबैभन्दा रोमाञ्चक प्रश्न यो छ किलिग साँच्चिकै शुरु हुन्छ त ? बायर्न म्युनिखका सीईओ कार्ल–हीन्ज रुमी निजले जर्मन अखबार बाइल्डलाई बताए—हामीलाई अर्बौले हेर्नेछन् । फुटबल जीवित भएको भन्दै हेर्नेछन् । तर शायद धेरैले उत्तर खोजिरहेका छन् होला । दर्शक विनाको लिग फुटबल सानदार होला त ? महामारीमा खेल्न सकिएला र ?उनीहरुले कसरी खुशीयाली मनाउँला त ? खेल होला त ? यस्तै यस्तै प्रश्नको उत्तर खोजिरहेका होलान् ।

यस्तै नेपालका पूर्व एक नम्बर राष्ट्रिय गोल किपर उपेन्द्रमान सिंह पनि जर्मन बुन्डेसलिगा कसरी शुरु हुनेछ भन्दै जिज्ञासा गरिरहनु भएका छन् । सिंहले न्युज अफ नेपाललाई यसबारे आफ्नो प्रतिक्रिया राख्नुभयोे—’जर्मनीमा बुन्डेसलिगा कसरी शुरु गर्दैछ यसमा मेरो पनि जिज्ञासा छ । किनभने यस्तो कोरोना भाइरसको महामारी दौरान किन यस्तो जोखिम मोल लिँदैछ त । मेरो विचारमा खेल गर्नु आवश्यक छैन, घरमा बसेर लकडाउनको पालना गर्नु नै भाइरसलाई हराउन सक्छौ भनेर डब्ल्यूएचओले भन्दै आइरहेको छ । फेरि दर्शक विनाको फुटबलको कुनै औचित्य हुँदैन, यसमा केही पनि चार्म हुँदैन । तरकारी खाँदा नून नभएको स्वाद जस्तै हुनेछ । आज हेर्नुपर्छ यो शुरु हुने हो कि होइन?

प्रतिक्रिया दिनुहोस्