अनलाइन विश्व तेक्वान्दोमा नेपालको पनि सहभागिता



न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड १९ को महामारीले विश्वका सबै जसो खेलका खेलाडीहरु लकडाउनमै बस्न बाध्य छन् । यस्तोमा खेलाडीको उत्साह बढाउन अनलाइन प्रतियोगिता पनि विकल्पको रुपमा अघि सारेको छ । यसै क्रममा फ्रान्समा पहिलोपटक अनलाइनमार्फत् तेक्वान्दो प्रतियोगिता भईरहेको छ। प्रदर्शनमा आधारित रहेर मूल्यांकन हुने यो प्रतियोगितामा नेपालका ७ जना खेलाडीले सहभागीता जनाएका छन्।

विश्वभर खेलकुद गतिविधि बन्द रहेको अवस्थामा त्यसको असर नेपाल पनि अछुटो रहेन । नेपालमा पनि दुई महिनाअघिदेखि सबै जसो खेल स्थगित भएका छन् । एकातिर तेक्वान्दो जस्तो विधा छ र अर्को्तिर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान ठप्प छ। यस्तो बेला उनीहरूले तेक्वान्दो प्रतियोगितामा भाग लिन कसरी सम्भव भयो भन्ने सबैलाई जिज्ञासा होला । तेक्वान्दो खेलमा पुम्से विधामा कुनै भौतिक सम्पर्क हुदैन, यो प्रदर्शनी खेल हो ।

तेक्वान्दोका चर्चित पूर्व खेलाडी दीपक विष्टले बताउनुभयो— “तेक्वान्दोको पुम्से विधा यस्तो हो कि यसमा भौतिक सम्पर्क हुदैन । तेक्वान्दोको गेरोगी विधामा मात्रै फाइट गर्नु पर्ने हुँदा त्यसमा भौतिक सम्पर्क हुन्छ । पुम्सेमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने हो। त्यसकारण यो खेल अनलाइन गराउन सम्भव भयो, लकडाउनमा पनि खेलाडीलाई व्यस्त राख्न विश्व तेक्वान्दो महासंघ, युरोपले यो प्रतियोगिता आयोजना गरेको हो।’’

जर्मनीमा हुने ‘२०२० अनलाइन पुम्से विश्व च्याम्पियनसिप’ नाम दिइएको यस प्रतियोगितामा नेपालबाट दुई महिला र पाँच पुरूषसहित सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका हुन् । लक्ष्मणबहादुर ऐर, कमल श्रेष्ठ, सुरेन्द्र बहादुर महरा, जीत बहादुर बोटे, सिता तामाङ, प्रेम बहादुर लिम्बु र पार्वती गुरुङले उक्त प्रतियोगितामा भाग लिएका हुन्। प्रतियोगितामा लक्ष्मणले ५० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन् भने अरूले ३० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन्।

पार्वती र कमल १३ औं दक्षिण एशियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन्। त्यस्तै जीतबहादुर र प्रेमबहादुर पनि १३ औं सागका पदकधारी खेलाडी हुन । प्रतियोगितामा २७ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेको टिम प्रशिक्षक एव खेलाडी लक्ष्मणबहादुर ऐरले बताउनुभयो ।

२२ वैशाखबाट शुरू भएको सो प्रतियोगितामा ३० बर्ष मुनिको खेलमा कमल श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । सोही उमेर समुहमा जित बहादुर बोटे पुरुषमा र पार्वती गुरुङ महिलामा रजत पदक प्राप्त गरेका थिए । साथै प्रेम बहादुर लिम्बु कास्य पदक प्राप्त गर्न सफल भएका छन । साथै ५० वर्षमुनि उमेर समूहका लक्ष्मण बहादुर ऐरको प्रतिस्पर्धा आज हुदैछ ।

कसरी हुन्छ प्रतिस्पर्धा ?

यस प्रतियोगितामा खेलाडी दर्ता, खेलाडीको प्रदर्शनदेखि नतिजा प्रकाशनसम्म अनलाइन मार्फत् भई रहेको छ । सम्पूर्ण खेलाडीहरुको दुइ वटा पुम्से भिडियोको यु ट्यूव लिंक, खेलाडी दर्ता रसीद र अन्य विवरणहरु सवैको व्यवस्थापन टोली प्रशिक्षक एवं खेलाडी लक्ष्मण स्वयंले तेक्वान्दो संघका सचिव दिपक बिष्टसँग समन्वय गर्नुभएको थियो ।

लक्ष्मणले विदेशमा बस्ने साथीहरूमार्फत् प्रतियोगिताको बारेमा जानकारी पाएको बताउनुभयो । यस्तो प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएपछि कोरियाली प्रशिक्षक क्वान योङ र ओलम्पियन दीपक विष्टसँगको सल्लाहमा सहभागिता जनाएको उहाँले बताउनुभयो । “प्रतियोगितामा सहभागिताका लागि प्रतिव्यक्ति १० युरो फ्रान्सको बैंकमा जम्मा गर्नुपर्ने थियो। त्यसमा अलि समस्या भयो।

पछि हामीले विदेशमा बस्ने साथीमार्फत् जम्मा ग¥यौँ, “यो प्रतियोगितामा सहभागी भई आफ्नो देशलाई चिनाउन पाउँदा हामी एकदम खुशी छौँ।” प्रतियोगतामा भाग लिनका लागि पाँच खेलाडीले सामाजिक दूरीको नियमलाई पालना गर्दै दैनिक चार घण्टा प्रशिक्षण गरिरहेको लक्ष्मणले जानकारी गराउनुभयो ।

उहाँले थप्नुभयो —हामीले शुरूबाटै बिहान र बेलुका दुई–दुई घण्टा नियमित प्रशिक्षण गर्दै आएका छौँ, लकडाउन भए पनि हाम्रो प्रशिक्षण टुटेको छैन। यसरी अनलाइनमार्फत् प्रतियोगिता गरिएको यो नेपालको दोस्रो खेल हो । विश्व तेक्वान्दोकै सम्बन्धन रहेको यस प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता हुनु खुशीको कुरा हो। यसले नेपाल पनि प्राविधिक रूपमा अन्य देशभन्दा कुनै पनि हिसाबले कमजोर नरहेको सन्देश दिएको छ।”

प्रतिक्रिया दिनुहोस्