वातावरण मिलेमा नेपालमा फुटबल हुने



न्युज अफ नेपाल, काठमाडौ

हाल विश्वका सबैजसो खेलकुद ठप्प छ । फुटबल त विस्तारै शुरु गर्ने योजना बनिरहेको छ । आउँदो शनिबारदेखि जर्मन लिग बुन्देसलिगा फुटबल शुरु गर्ने समेत तय भइसकेको छ । यस्तै स्पेनी ला लिगा, इंग्लिस प्रिमियर लिग संभवत अर्को महिनामा शुरु गर्ने तरखरमा छ । नेपालमा पनि कुनै पनि खेल भएको छैन ।

कोरोनाको महामारीसँगैं नेपालमा चैत ४ गतेसम्म बी डिभिजन लिगका खेल भइरहेको थियो । कोरोनाभाइरसको महामारी बढ्न थालेपछि एन्फाले चैत ५ गतेदेखि बी डिभिजन लिग स्थगित गरेको थियो ।

यदि युरोपेली लिगहरु धमाधम शुरु भएमा नेपालमा पनि फुटबल पुन संचालन हुन सक्ने वातावरण हुनेछ । कोरोनाभाइरसको कारण हाल नेपालमा बी डिभिजनसहित विश्वकप फुटबल छनोट खेलहरु पनि स्थगित भएका छन् ।

यो महामारी नभएको भए नेपाली राष्ट्रिय फुटबल टोलीले अस्टे«लिया र चिनियाँ ताइपेइसँग आफ्नै घरेलु मैदान दशरथ रंगशालामा खेलिसकेको हुन्थ्यो । महामारीले गर्दा नेपालमा विश्वकप छनोटका खेल हेर्न नेपाली फुटबल प्रेमी समेत वन्चित भएका छन् ।

तर फुटबल पुन शुरु गर्न छलफल भइरहेको एन्फाका प्रवक्ता किरण राईले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो । उहाँले बताउनुभयो —सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग एन्फाले छलफल गरिरहेको छ । कोरोनाको कारण खेल हुन सकिरहेको छैन ।

सरकारबाट सकारात्मक निर्णय आएमा मात्रै फुटबल शुरु हुनसक्छ । तर भाइरस संक्रमणले गर्दा हामीले सावधानी अपनाउनु पर्ने हुन्छ । खेलाडीहरुको स्वास्थ्यलाई समेत हामीले पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । कोरोनाले खेलकुदलाई धेरै नै असर गरेको छ । यदि वातावरण मिल्छ भने फुटबल शुरु हुन सक्नेछ ।

यस्तै गत वर्षको बी डिभिजन लिग बीचैमा स्थगित भएको थियो । नयाँ वर्ष भएको हुँदा बी डिभिजन खारेज हुनसक्ने एक क्लबका अध्यक्षले बताउनुभएको थियो । उहाँको अनुसार नयाँ सिजन शुरु गर्नु पर्छ । तर राईले बताउनुभयो—अहिले संचालनमा आयो भने खारेज हुँदैन ।

यदि महामारीको असर लम्बिएर गयो भने एन्फाले सहभागि क्लबहरुसँग सरसल्लाह गरेर मात्रै चालु सिजन के गर्ने भन्ने निर्णय लिनेछ । तर फुटबल शुरु गर्न युरोपेली लिगबाट पनि प्रेरणा मिल्न सक्नेछ । उनीहरुले फुटबल शुरु गर्न के के सावधानी अपनाए त्यसको हामीले सिको गर्न सक्नेछौ ।

प्रतिक्रिया दिनुहोस्