एस्टन, बर्नमाउथ र नर्विच रेलिगेसनमा पर्ने



लन्डन, (एजेन्सी)
प्रिमियर लिगले २०१९/२० सिजन यदि पुनः सञ्चालन गर्न नसकेमा पुछारमा रहेका तीन टोली रेलिगेसन हुने खुलासा गरेको छ ।
मार्चमा लिग स्थगित भएपछि आउँदो जुनमा लिग पुनः सुचारु गर्ने जनाएको हो ।

यदि त्यो बेला पनि खेल शुरु नभएमा वर्तमान अंक तालिकाको आधारमा एस्टन भिल्ला, बर्नमाउथ र नर्विच रेलिगेसनमा पर्नेछन् । सोमबार लिगका २० क्लबहरुबीच भिडियो कन्फरेन्समार्फत् छलफल हुने पनि जनाएको छ । प्रिमियरका दुई क्लब एस्टन भिल्ला र ब्राइटनले तटस्थ मैदानमा खेल नगर्न आग्रह गर्दै आएका छन् ।

आगामी जुनदेखि तटस्थ मैदानमा गर्ने हो, होइन भन्ने मतदानले स्पष्ट पार्नेछ । २० मा १४ क्लबले मात्रै मत दिएमा पनि एस्टन र ब्राइटनको आग्रह खारेज हुनेछ । यदि उल्टो नतिजा आएमा यस सिजनको लिग रद्द हुने प्रिमियर लिगले स्पष्ट पारेको छ ।
यस्तै रेलिगेसनमा पर्न सक्ने टोलीहरुले पनि तटस्थ मैदानविरुद्ध मत राखेका छन् । यी क्लबहरुले बुन्डेसलिगा क्लबहरुको उदाहरण दिँदै आफ्नै रंगशालामा खेल्नुपर्ने माग राखेका छन् ।

ब्राइटनका प्रमुख कार्यकारी पउल बार्बरले विरोधी क्लबहरुको ह्वाटस् एप ग्रुप तयार गरेका छन् । ह्वाटस एपमा नर्विच, बर्नमाउथ, एस्टन, वाटफोर्ड र वेस्टह्यामले वर्तमान ढाँचाविरुद्ध मतदान गर्ने विश्वासमा छन् । यो समूहका क्लबहरुले यदि एउटा क्लबले साथ दिएमा प्रिमियर लिग शुरु हुन कठीन हुने जनाए ।

यदि नर्विच, एस्टन र बर्नमाउथले रेलिगेसन र खेल्नेबीच एउटा छनोट गर्नुपर्ने हुन्छ । प्रिमियर लिगले आवश्यक १४ मत पाउनेमा ढुक्क रहेको छ । न्युक्यासल र साउथाम्पटनले रेलिगेसनबाट बच्नका लागि खेल्ने तयार रहेको जनाए ।

प्रिमियर लिगले खेलाडी र पदाधिकारीको स्वास्थ्य परीक्षण गर्न हरेक क्लबलाई ३५ वटा किट्स दिनेछ । परीक्षण गरेपछि नेगटिभ आउने खेलाडीले मंगलबारदेखि शुक्रबारसम्म प्रशिक्षणमा सहभागी हुन सक्नेछन् । तर उनीहरुको तापक्रम भने सधैं जाँच गरिनेछ र अर्को परीक्षण साताको अन्त्यमा गरिनेछ ।

यसैक्रममा म्यानचेस्टर युनाइटेडका मेनेजर ओले गनार सोल्सकाएरले बताए कि यदि उनका खेलाडी असहज महशुस गरेका छन् भने उनीहरुलाई बलयुक्त खेलाउन सक्नेछैन । उनले भने– ‘उनीहरुविरुद्ध तपाईंले केही पनि गर्न सक्नुहुन्न यदि खेलाडीहरु मानसिक रुपमा खेल्न तयार छैनन् ।

हामीले कसैलाई पनि बलजफ्ती खेलाउन सक्दैनौं । त्यसो त उनीहरुसँग धरै चिन्ता त छैनन् तर हामीले विज्ञहरु र स्वास्थ्यकर्मीहरुलाई विश्वास गर्न सक्छौं । म आशा गरिरहेका छु कि हामीले सुरक्षित समाधान चाँडै पाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्