टाईसनलाई फाईट प्रस्तावको ओईरो



लन्डन, एजेन्सी ।

केही दिन अघि रिंगमा पुनरागमन गर्ने बताएका माईक टाइसनसँग फाइट खेल्नका लागि प्रस्तावको ओईरो लागेको छ ।२० वर्षको उमेरमा हेभिवेट च्याम्पियन बनेका माईक टाइसनसँग खेल्न झन्डै एक दर्जन खेलाडीले आफ्नो नाम प्रस्ताव गरेका छन् । एक साताअघि उनले च्यारिटीका लागि बक्सिंग रिंगमा पुनरागमन गर्ने भन्दै बक्सिंग अभ्यास गरिरहेको भिडियो सामाजिक सञ्जालमा हालेपछि उनीसँग भिडन्तका लागि धेरै जना पूर्व बक्सरहरुले इच्छा देखाएका हुन् ।

पूर्व बक्सरहरु जोन फ्यूरी, इभान्डर होलीफिल्ड, सोन्नी बिल विलियम्स, पाउल गालेन्स, बेरी हल्स, डेनी विलियम्स, भ्लादमिर क्लिस्चको, भिटाली क्लिस्चको, डेभिड हाये लगायतले टाइसनसँग खेल्ने इच्छा ब्यक्त गरेका हुन् । सन् २००५ मा सन्यास लिएका टाईसनसँग ५५ वर्षीय ब्रिटिश बक्सर जोन फ्यूरीले एउटा भिडियो सार्वजनिक गर्दै खेल्ने इच्छा ब्यक्त गरेका हुन् ।

उनले उक्त भिडियोमा टाईसनसँग खेलेर मर्न पनि तयार रहेको बताएका छन् । जोन चर्चित बक्सर टाईसन फ्यूरीका पिता हुन् । आफ्नो समयमा माईक टाइसन प्रभावित उनले आफ्नो पुत्रको नाम नै टाईसन फ्यूरी राखेका हुन् ।

त्यसैगरी रिटायर्ड पूर्व हेभिवेट च्याम्पियन ईभान्डर होलीफिल्डले पनि टाईसनसँग खेल्नका लागि संन्यास फिर्ता लिने घोषणा गरेका छन् । बक्सिंग लेजेन्ड होलीफील्डले यदि माइक टाइसन रिंगमा फर्केमा भिड्न इच्छुक रहेको बताएका छन् । टाइसनले रिंगमा पुनरागमन गर्ने संकेत देखाएकाले उनीसँग खेल्न आफू तयार रहेको ५७ वर्षीय होलीफिल्डले बताएका हुन् । यसअघि उनले दुई पटक टाइसनसँग खेलेका छन् । जसमा दुवै पटक उनी बिजेता बनेका थिए ।

पहिलो पटक उनले टाइसनलाई ११औं राउण्डमा हराउँदै आफ्नो डब्लूबीए च्याम्पियनशिपको उपाधि रक्षा गरेका थिए । त्यस्तै, दोस्रो भिडन्तमा कान टोकेपछि टाईसनलाई अयोग्य घोषिणा गरिएपछि होलीफिल्ड विजेता बनेका थिए ।त्यस्तै ४६ वर्षीय ब्रिटिश मुक्केबाज डेनी विलियम्सले पनि टाइसनलाई खेल्नका लागि चुनौती दिएका छन् । टाइसनलाई १६ वर्षपछि आफूसँग रि–म्याच खेल्न विलियम्टसले चुनौती दिएका हुन् । सन् २००४ मा विलियम्सले टाइसनलाई नकआउट गरेका थिए ।

त्यस्तै ५३ वर्षीय रग्बी लेजेन्ड्स तथा पूर्व बक्सर सोन्नी बिल विलियम्सले टाइसनसँग खेल्ने उत्सुकता देखाएका छन् । आफ्नो करियरमा सात फाइटमा अपराजित ६ फिट ४ ईन्च सोन्नीले १ मिलियन डलर समेत प्रस्ताव गरेका छन् ।टाईसनले बक्सिंगमा पुनरागमनका लागि आफ्नो तौल पनि घटाएका छन् । पूर्व हेभिवेट च्याम्पियन टाइसनले बढ्दो उमेरमा पनि आफ्नो प्रिय खेललाई छोड्न सकेका छैनन् । ५३ बर्षको उमेरमा पनि टाइसनले सक्रिय खेलाडीले जस्तै कडा मेहनत गरेको भिडियोमा सार्वजनिक गरेका थिए ।

टाईसनलाई खुला मुड्की बक्सिंग खेल्ने प्रस्ताव

सन् ८० को दशकमा बक्सिंग ग्लोभ्स लगाएर एक से एक धुरन्धरलाई रिंगमा ढालेका माईक टाइसनलाई बेयर नकल अर्थात् बिना ग्लोभ्स बक्सिंग खेल्न १६।२ मिलियन पाउम्डको प्रस्ताव गरिएको छ ।

बेयर नकल फाइटिंग च्याम्पियनशिपका अध्यक्ष डेभिड फेल्डम्यानले टाइसनले उक्त फाइट खेलेमा उनलाई अन्य अवसरहरु पनि सिर्जना हुने बताएका छन् । उनले प्रस्तावका लागि २० मिलियन पाउन्डसम्म बढाउन सकिने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्