के लिग हेर्नेको संख्या लाखौं



लन्डन, (एजेन्सी) ।

कोरोना भाइरसको महामारी दौरान के लिग (कोरियन फुटबल) शुक्रबार शुरु भएको छ । रंगशालामा दर्शक नभए पनि सो खेलको प्रत्यक्ष प्रसारण हेर्नेको संख्या सामाजिक सञ्जालमा लाखौं दर्शक थिए ।

बीबीसी स्पोर्ट वेबसाइटले जनाएअनुसार ट्वीटरमा मात्रै हेर्नेको संख्या १.८ मिलियन रहेको थियो । यसले यो प्रमाणित गरेको छ कि कोरोना भाइरसको महामारीमा निरस भएका फुटबल प्रेमीले अहिले जस्तोसुकै फुटबल हेर्नेछन् बीबीसी स्पोर्टले बताएको थियो ।

दर्शक नभएको सो खेलमा पदाधिकारी, बेन्चमा बसेका खेलाडी र मेनेजरले मास्क लगाएका थिए । मैदानमा खेलेका खेलाडीले भने मास्क लगाएका थिएनन् । उनीहरुले एक अर्कासँग हात पनि मिलाएनन् । खेलाडीलाई मैदानमा थुक्न र कुरा गर्न बन्देज लगाइएको थियो ।

मैदानमा खेलाडी कराउने बाहेक त्यहाँ कुनै पनि किसिमको आवाज थिएन । लाउडस्पिकरमा दर्शकको आवाजको अडियो बजाइएको थियो । फाइनल ह्विस्टल पनि मौन रुपमा भएको थियो । सो खेलमा च्याम्पियन्स जिओनबक मोटोर्सले सुवोन ब्ल्यूविंग्सलाई १–० ले हराएको थियो । ४१ वर्षीय सब्सीच्युट ली डङ गूकले हेडमार्फत् निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्