कीर्तिमानी क्लोज बायर्नको सहायक प्रशिक्षक



बर्लिन, एजेन्सी ।

फिफा विश्वकपका सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका जर्मन फुटबलर मिरोस्लाभ क्लोज बुन्डेस लिगाको अब्बल क्लब बायर्न म्युनिखको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनले शुक्रबार बायर्नसँग एक बर्षे सम्झौता गरेका हुन । क्लोजले आगामी जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । उनले बार्यनका प्रमुख प्रशिक्षक हन्सी फ्लिकको सहायकको रुपमा काम गर्ने छन् । सन २०१८ देखि क्लोजले बार्यनको यु–१७ टोलीलाई प्रशिक्षण दिइरहेका थिए । सन २०१६ मा इटालियन सिरी ए क्लब लाजियोबाट व्यवसायिक फुटबल करियर समाप्त गरेपछि क्लोजलाई जर्मन राष्ट्रिय टोलीका प्रशिक्षक जोएचिम लोले कोचिङ स्टाफको रुपमा नियुक्त गरेका थिए ।

खेलाडी छंदा चार वर्ष बार्यनबाट खेलेका उनले त्यसअवधिमा बायर्नलाई दुई पटक बुन्डेसलिगाको उपाधि र डिएफबी पोकल डब्लस् च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । उनले जर्मनी राष्ट्रिय टोलीबाट १ सय ३७ म्याचमा ७१ गोल गरेका छन् । सन २०१४ को विश्वकप जित्नु अघिको उनी समावेश टोली सन २००२ को विश्वकप फाइनल र सन २००८ को युरोपकप फाइनल खेलेको थियो । क्लोजले सन २००६ को विश्वकप फुटबलमा ५ गोल गर्दै गोल्डेन बुट समेत हात पारेका थिए ।

विश्वकप इतिहासमा क्लोज १६ गोलका साथ सर्वाधिक गोलकर्ता खेलाडीको सुचीमा शिर्ष स्थानमा छन् । उनले ब्राजिलमा सम्पन्न फिफा विश्वकपमा आयोजक ब्राजिललाई ७(१ को लज्जास्पद हार चखाउँदा उक्त कीर्तिमान रचेका हुन । उनले ब्राजिलका रोनाल्डोले गरेको १५ गोललाई उछिन्दै उक्त कीर्तिमान बनाएका हुन ।

हेडिंग गोलका विषेशज्ञ कहलिएका उनले सन २००२ र २००६ को विश्वकपमा समान पाँच(पाँच गोल गरेका थिए । त्यसैगरी सन २०१० मा चार गोल र २०१४ मा दुई गोल गरेका थिए । उनी जर्मन टिमका सर्वाधिक गोलकर्ता समेत हुन् । कोरोना महामारीका कारण स्थगित यस सिजनको जर्मन बुन्देसलिगा आगामी १६ मे बाट सुचारु हुने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्