चान्सलरको आदेशले बुन्डेसलिगामा खुसी



म्युनिख, (एजेन्सी)

कोरोना भाइरस महामारीको चपेटामा परेको खेलकुद विस्तारै सञ्चालन हुने सम्भावना बढ्दै गएको छ । मार्चदेखि ओलम्पिक, विश्वकप फुटबल छनोट, विश्वस्तरीय अन्य खेलसँगै प्रमुख प्रतियोगिता स्थगित र रद्द भएका छन् ।

तर केही दिनदेखि विश्व खेलकुदअन्तर्गत युरोपेली लिगहरु सञ्चालनमा ल्याउन कोसिस भइरहेको छ । जसमा जर्मन बुन्डेसलिगा, इंग्लिस प्रिमियर लिग, इटाली, सिरी ए र स्पेनी ला लिगा रहेका छन् । तर युरोपेली लिगमध्ये एक चर्चित लिग फ्रेन्च वान लिगको यो सिजन रद्द गरिएको थियो ।

जर्मन चान्सलर एन्जेला मोर्केलले यही महिना बुन्डेसलिगा पुनः सञ्चालन गर्न आदेश दिएकी छन् । योसँगै बुन्डेसलिगामा खुसीको लहर फैलिएको छ र जर्मन फुटबल लिगले मे १६ देखि पुनः लिग शुरु गर्ने भएको छ ।

जर्मन फुटबलले जनाएअनुसार सबै खेल बन्द रंगशालामा हुनेछन् । लकडाउनपछि पुनः शुरु हुनेमा बुन्देसलिगा युरोपको पहिलो प्रमुख फुटबल लिग हुनेछ । साथै विश्वका अन्य फुटबल लिगका लागि पनि यो प्रेरणा बन्न सक्ने बताइएको छ ।

जर्मन लिगमा नौ चरणका खेल बाँकी रहेका छन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखका प्रमुख कार्ल हेइन्ज रुमेनीजले राजनीतिज्ञहरुलाई धन्यवाद दिए ।

उनले भने– ‘बुन्डेसलिगाको बाँकी सिजन शुरु गरेर अन्त्य गर्र्न अनुमति दिएकोमा राजनीतिज्ञहरुलाई धन्यवाद दिन चाहन्छु । हामीहरु अब पुनः शुरु हुने खेलका लागि प्रतीक्षारतमा छौं । हुन सक्छ मेको मध्यमा खेल हुनेछ ।’

जर्मन फुटबल लिगका प्रमुख कार्यकारी क्रिस्टियन सेइफर्टले बताए– ‘यो निर्णय बुन्डेसलिगा र बुन्डेसलिगा–२ का लागि राम्रो समाचार हो । सबैले अनुशासित व्यवहार गर्न आवश्यक छ । क्लबहरु र खेलाडीहरु यसका लागि तयार हुनुपर्छ । दर्शक नभए पनि खेलमा ध्यान दिन आवश्यक छ ।’

कसरी खेलिनेछ

रंगशालामा दर्शक नहुने भएपछि यसको विकल्पका लागि जर्मन फुटबल लिगले दर्शक र कोच कराएको अडियो गुन्जने जनाएको छ । बुन्डेसलिगामा बढीमा ३ सय २२ जना र बुन्डेसलिगा–२ मा बढीमा २ सय ७० जना उपस्थित हुनेछन् । ३ सय २२ मा खेलाडी, कोच, रेफ्री, जर्नलिस्ट, टिभी क्यामेरापर्सन, डोपिङ कन्ट्रोलर, स्टेवार्ड, सेक्युरिटी, ग्राउन्डसमेन र बल ब्वाइज हुनेछन् ।

यसमध्ये ९८ जना रंगशालाभित्र, १ सय १५ जना स्ट्यान्ड र १ सय ९ जना रंगशालाबाहिर रहनेछन् । खेलाडीहरु रंगशालामा पस्दा छुट्टाछुट्टै आउनेछन् र उनीहरुलाई खेल अघि हात मिलाउने र फोटो खिच्न बन्देज लगाइनेछ । खेलाडीले स्वास्थ्य सरसफाइका सामान स्वयम्ले बन्दोबस्त गर्नुपर्ने हुन्छ ।

कोरोनाको असर

विभिन्न क्लबका १ हजार ७ सय २४ जना खेलाडीको परीक्षण हुँदा १० खेलाडीमा कोरोना संक्रमण भेटिएको थियो । ९ मेमा खेल्ने तय गरेपछि खेलाडीहरुले गत महिना प्रशिक्षण शुरु गरेका थिए । जर्मनी सरकारले २४ अक्टोबरसम्म भीडभाड हुने कार्यक्रममा रोक लगाएको छ । त्यसैले खेलहरु बन्द रंगशालामा हुने तय भएको हो ।

जर्मनीमा हालसम्म कोरोना भाइरसका कारण ७ हजार नागरिकको मृत्यु भएको छ । यो युरोपमा बेलायत, इटाली, फ्रान्स र स्पेनको तुलनामा निकै कम क्षति हो ।

अन्य लिग पनि शुरू

यसै गरी टुर्किस सुपर लिग १२ जुनदेखि पुनः शुरु हुने घोषणा भएको छ । टुर्किस लिग जुलाईमा सकाउने योजनामा छ । फुटबल महासंघका प्रमुख निहाट ओजडेमिरले टुर्कीले अगस्टमा च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने बताएका छन् ।

क्रोएसियाको शीर्ष लिग विनादर्शक पुनः सञ्चालनमा आउने भएको छ । इटाली सिरी ए पनि सञ्चालनमा आउने भएपछि क्लबका खेलाडीहरु प्रशिक्षणमा जुटेका छन् । यस्तै ला लिगा क्लबहरु पनि पन्जा, माक्स लगाएर प्रशिक्षण गरिरहेका छन् ।

प्रिमियर लिगमा सन्देह

प्रिमियर लिग भने कसरी गर्ने भनेर छलफल भइरहेको छ । प्रिमियर लिग पुनः सञ्चालन गर्न तटस्थ मैदानमा खेल्ने प्रस्ताव ल्याएको छ । रेलिगेसन क्षेत्रमा रहेका तल्लो ६ टोली यसका लागि तयार नभएको पनि प्रिमियर लिगले जनाएको छ ।

उनीहरु तटस्थ मैदानको प्रस्तावबाट सन्तुष्ट छैनन् । यदि यो प्रस्ताव क्लबहरुले अस्वीकार गरेमा लिग रद्द हुने लिग मेनेजर संघका प्रमुख कार्यकारी रिचार्ड बेभनले बताएका छन् । यसको सोमबार हुने मतदानबाट निर्णय हुनेछ । यदि २० मा १४ मत आएमा लिग १२ जुनदेखि सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्