इंग्लिश प्रिमियर लिगका बाँकी म्याच नखेले कारवाही हुने



लन्डन, एजेन्सी ।

कोरोना भाइरस महमारीका कारण स्थगित इंग्लिश प्रिमियर लिगका बाँकी खेलहरु नखेल्ने क्लबलाई कडा कारबाही हुनेभएको छ ।

इंग्लिश फुटबल संघ (एफए) र लिग कमिटीले लिगका बाँकी खेल नखेल्ने क्बलाई रेलिगेसन र कारबाही गर्ने चेतावनी दिएको हो । प्रिमियर लिगका केही क्लबले यस सिजन स्थगित भएका म्याचहरु रद्द गर्न र अर्को सिजनमा मात्र लिग सुचारु गर्न प्रस्ताव गर्दै आएका छन् । यस सिजन रेलिगेसन जोनभित्र रहेका नर्वीच सिटी, वर्नमाउथ र एस्टन भिल्लाले लिग नगराउन प्रस्ताव गरेका छन् ।

कोरोनाका कारण रोकिएको लिग कुन मितिमा कसरी सुचारु गर्ने भनेर अर्को हप्ता लिग कमिटीले निर्णय गर्नेछ । यसअघि लिग खेल्नका लागि तयार रहन कमिटीले क्लबलाई जानकारी गराइसकेको छ । प्रिमियर लिग जुनको दोस्रो साता सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्