मैदानको टेन्डरमा दोस्रोपटक म्याद थप



पोखरा, (नेस)

विश्व कोरोना संक्रमणमा परेको स्थितिमा खेल क्षेत्रको विकासमा समेत निकै असर गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) पोखरा क्रिकेट मैदान स्तरोन्नतिका लागि ३ करोड रुपियाँ छुट्याएको छ ।

राखेपले मैदान स्तरोन्नतिका लागि टेन्डर आह्वान गरे पनि पहिलो चरणमा कुनै पनि निर्माण कम्पनीले चासो देखाएनन् । र राखेप टेन्डर प्रक्रियाको दोस्रोपटक म्याद थप्न बाध्य भएको छ ।

दोस्रोपटक थपिएको म्याद सकिन अब केही दिन मात्र बाँकी रहेको अवस्थामा अझै निर्माण कम्पनीले चासो नदेखाउँदा उक्त टेन्डर लकडाउन सकिएपछि मात्र सफल हुने देखिएको छ । पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने अभियानसँगै टेन्डर आह्वान गरिएको थियो ।

वैशाख २५ पछि गण्डकी प्रदेश सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ भने देशमा कोरोना संक्रमणमा बृद्धि भएको छ । तर प्रदेश सरकारले विकास निर्माणको कामलाई निरन्तरता दिने बताएको छ । ‘लकडाउनले गर्दा दोस्रोपटक टेन्डरको म्याद थपियो’ –पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक प्रनिश ताम्राकारले सुनाए ।

मैदान संरक्षण गर्न तारजाली लगाउने, नाला निर्माण गर्ने, दक्षिणी भेगमा पभेलियन बनाउनेलगायतका कामहरु गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्