भोम्जनको स्मृतिमा वृद्धाश्रममा भोजन



हेटौंडा, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मञ्चको हेटौंडा समन्वय शाखा संस्थापक अध्यक्ष खेलपत्रकार सुमन भोम्जनको निधन भएको ५ वर्ष पुगेको छ । २०७२ सालको भूकम्पमा परेर उनको काठमाडौंमा निधन भएको थियो । उनको निधनबाट एक होनाहार युवा पत्रकारलाई खेलकुद क्षेत्रले सदाका लागि गुमाएको थियो ।

उनको स्मृतिमा मञ्चको समन्वय शाखा हेटौंडासँगको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले भोम्जनको जन्मस्थान हेटौंडामा रहेको बृद्धाश्रममा भोजन गराएको छ । हेटाैंडा–२, चौकीटोलस्थित ओम बृद्धाश्रममा बृद्धलाई भोजन गराइएको छ ।

हेटौंडा शाखा अध्यक्ष राजन दाहाल, मृतक भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका हेटौंडेली स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको टोली आश्रममा पुगेर आश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललाई १० हजार रुपियाँ हस्तान्तरण गरेको थियो । बृद्धाश्रममा ४० बृद्धा छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष दुर्गानाथ सुवेदीले एक होनाहार युवा खेलकुद पत्रकार भोम्जनको अभाव सधैं खेलकुद क्षेत्रमा रहने बताउनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा भोम्जनको वार्षिक पुण्यतिथिमा स्मृतिसभा गर्दै आएको थियो ।

तर, यस वर्ष विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी भएकाले केन्द्रमा कार्यक्रम गरिएन । मञ्चका पूर्वसदस्यसमेत रहेका भोम्जनको स्मृतिमा मञ्चले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भोम्जन भूकम्प गएको दिन काठमाडौंको असनछेउको डेराको भुइँतलामा पुरिएका थिए । भूकम्पको ८ दिनपछि उनी भेटिएका थिए । उनको शव वैशाख १९ गते भेटिएकाले मञ्चले १९ गते वार्षिक पुण्यतिथि मनाउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्