आर्येन रोबेनलाई ब्राजिली क्लबको प्रस्ताव



लन्डन, एजेन्सी ।

पूर्व डच अन्तर्राष्ट्रिय स्ट्राइकर आर्येन रोबेनलाई ३६ वर्षको उमेरमा संन्यासबाट फर्कन प्रस्ताव आएको छ । बायर्न म्युनिखका पूर्व खेलाडीले गत सिजनमा १९ वर्षको व्यवसायिक करियर समाप्त भएको घोषणा गरेका थिए । ब्राजिलको क्लब बोटाफोगोले उनलाई बुधबार प्रस्ताव राखेको हो । क्लबका निर्देशक मार्कोस लेइटेले आर्येनले प्रस्तावमाथि चासो लिएको खुलासा गरेका छन् । आर्येनले केही दिन अघि मात्रै फुटबलमा फर्कने संकेत दिएका थिए ।

रिकार्डो रोटनबर्गले ग्लोबो इस्पोर्टलाई बताए—यो जोखिम छ किनभने उनी केही समयका लागि खेलबाट टाढा छन् । तर मैले सोधपुछ गर्दा उनले उत्तर दिएका छन् । उनी हाम्रो प्रस्तावमा खुशी थिए । लेइटेले मलाई सहयोग गरेका छन् । बोटाफोगोले यसअघि जापानका होन्डालाई सम्झौता गरेको थियो । हाल क्लबले आर्येनसँगैं याया टुरे, जोन ओबी मिकेल, राफायल र फाबियो डा सिल्भालाई टोलीमा भित्र्याउन प्रयास गरिरहेको छ ।

आर्येनले नेदरल्यान्डस्, इंग्ल्यान्ड, स्पेन र जर्मनीमा गरी १२ वटा लिग उपाधि जितेका छन् । बायर्नमा उनले सर्वाधिक ८ उपाधि जितेका थिए । उनी सन् २००४ मा पीएसभीबाट चेल्सीमा आबद्ध भएका थिए । पश्चिम लन्डनमा उनले तीन सिजन बिताएर रियल मेड्रिडसँग सम्झौता गरेका थिए ।

आर्येनले जर्मनीमा सबैभन्दा बढी रमाएका थिए । उनले म्युनिखका लागि १० सिजनमा ३०९ खेलबाट १४४ गोल गरेका थिए । उनले व्यक्तिगत रुपमा बेलन डीअर २०१४ मा चौथो स्थानमा रहेका थिए । अर्को वर्ष उनी युएफा उत्कृष्ट खेलाडी अवार्डमा तेस्रो स्थानमा रहेका थिए । त्यस्तै उनले विश्वकपमा कांस्य पदक प्राप्त गरेका थिए । हल्यान्डका लागि आर्येनले ९६ क्याप लगाएर कूल ३७ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्