शाहरुख खान तेस्रो क्रिकेट टिम किन्दै



लन्डन,एजेन्सी ।

ईन्डियन प्रीमियर लीग (आईपीएल) को फ्रेन्चाइजी कोलकाता नाइटराइडर्स (केकेआर) क्रिकेट क्लबका मालिक तथा बलिउड फिल्म स्टार शाहरुख खानले तेस्रो क्रिकेट टिम किन्ने भएका छन् ।

उनको स्वामित्वमा रहेको केकेआर समूहले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) को लीग ‘द हन्ड्रेड’ को टिम किन्न लागेको बताइएको छ । इंग्लिश सञ्चारमाध्यम ’द डेली टेलीग्राफ’ का अनुसार केकेआरका मालिकले द हन्ड्रेड लीगमा टिम खरिद गर्न लागेको उल्लेख गरेको छ ।

द हन्ड्रेड लिग नयाँ ढाँचामा आधारित क्रिकेट प्रतियोगिता हो । जसको पहिलो सत्र यसै वर्षको १७ जुलाई देखि सुरु हुने तालिका थियो । तर, कोरोना महामारीका कारण उक्त प्रतियागिता अर्को वर्ष सारिएको छ । १ सय बलिंगको नयाँ ढाँचाको यस प्रतियोगिताले क्रिकेट जगतमा क्रान्ति ल्याउने अनुमान गरिएको छ ।

कोरोना महामारीका कारण ईसीबीलाई यसवर्ष ३० करोड डलर नोक्सान हुने बताइएको छ । द हन्ड्रेड स्थगनका कारण पनि ईसीबीले भारी नोक्सानी बेहोर्नु पर्ने बताईएको छ । ईसीबीले गत साता मात्र द हन्ड्रेड लीगको पहिलो संस्करण अर्को वर्षंसम्मका लागि स्थगित भएको जानकारी गराएको थियो।

क्रिकेट जगतमा शाहरूख खानको स्वमित्व रहने यो तेस्रो टिम हुनेछ । कोलकाता नाइटराइडर्स बाहेक शाहरुखले सन् २०१५ मा क्यारेबियन प्रीमियर लीग ९सीपीएल० मा त्रिनिदाद टिम किनेका थिए । उनको भारतीय टिम केकेआरले दुई पटक आईपीएल उपाधि जितिसकेका छन् भने सीपीएल लिगमा पनि त्रिनिदाद टिमको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्