थुकको विकल्पमा वाक्स एप्लिकेटर



सिड्नी, (एजेन्सी)

कोरोना भाइरसको महामारीबाट उम्केपछि खेलमा नियमहरु र व्यवहारहरु परिवर्तन हुने तय भएको छ । यसै क्रममा क्रिकेटमा धेरै चीज परिवर्तन हुन सक्ने देखिएको छ । बलरले हरेकपटक बलिङ गर्दा थुक या ¥यालले बल चम्काउने गर्छन् । तर जब कोरोना भाइरसको महामारी आयो, थुक या ¥यालले चम्काउन नहुने सावधानी अपनाउनुपर्ने भएको छ ।

यसैले यसका लागि अस्टे«लियाको कुकाबुरा कम्पनीले विकल्प खोजेर वाक्स एप्लिकेटर (मैनबाट बन्ने रसायन) उत्पादन गर्ने भएको छ । कुकाबुरा कम्पनीले छिटै वाक्स एप्लिकेटर बनाउँदै छ ।

कोरोना भाइरसको महामारी समाप्त भएपछि क्रिकेट खेल्दा सो रसायन प्रयोग हुनेछ । यसले बललाई चमक दिने कम्पनीको दाबी छ । हालसम्म पनि बल चम्काउन पहिलेकै पारम्परिक तरिका अपनाउने हो कि संक्रमण हुने डरले यसलाई रोक्ने भन्नेमा बहस भइरहेकै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि यसमा विचार गरिरहेको जनाएको छ । आईसीसी क्रिकेट पुनः शुरु भएपछि बल चम्काउने पारम्परिक तरिकामाथि पूरै रोक लगाउने विचारमा छ । आईसीसी यसको विकल्पको खोजीमा छ । कृत्रिम पदार्थलाई मञ्जुरी दिन सक्ने र यसको प्रयोगमा अम्पायरले निरीक्षण गर्ने पनि आईसीसीले जनाएको छ ।

वाक्स एप्लिकेटर कुकाबुरा कम्पनीले तयार गरिरहेको छ । यो एक महिनामा बजारमा आउन सक्ने पनि कम्पनीले बतायो । कम्पनीका प्रबन्ध निर्देशक ब्रेट इलियटले बताए– ‘हामी बल चम्काउने पारम्परिक तरिकालाई परिवर्तन गर्नका लागि एउटा वाक्स एप्लिकेटरमा काम गरिरहेका छांै । अम्पायरको निगरानीमा यसको प्रयोग गर्न सकिनेछ ।’

ब्रेटका अनुसार स्पन्जको माथिको भागमा मैन दलिएको हुन्छ । यसलाई खेलाडी वा अम्पायरले सहज तरिकासँग खल्तीमा राख्न सक्नेछ । अस्टे«लियन इन्स्टिच्युट अफ स्पोर्टले पहिलै चेतावनी दिइसकेको छ कि भविष्यमा बल चम्काउनका लागि थुक या ¥यालले या पसिनाको प्रयोग गर्नु हानिकारक हुनेछ । ब्रेटले खेल दौरानमा यसको प्रयोगपछि नै यो कति कारक सिद्ध हुन्छ त्यतिबेला मात्रै नतिजा थाहा हुने बताए ।

बल चम्काउनेमा पनि केही पूर्वखेलाडीको मत विभाजित भएको छ । पूर्ववेस्टइन्डिज क्रिकेटर माइकल होल्डिङले पुरानै परम्परालाई सही ठह¥याएका छन् । दक्षिण अफ्रिकाका पूर्वफास्ट बलर एलान डोनाल्डले विकल्प खोजेकोमा सही कदम भएको बताए । यस्तै भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले अब थुकबाट बल चम्काउन खेलाडी नै नमान्ने बताए ।

पाकिस्तानका पूर्वबलर वकार युनुस, भारतीय बलर आशीष नेहरा र हरभजन सिंहले भने पुरानै तरिकालाई सही भएको मानेका छन् । यस्तै अस्टे«लियाका ब्याट्सम्यान डेभिड वार्नरले पनि पारम्परिक तरिकालाई रोक लगाउने पक्षमा नरहेको बताएका थिए ।

वार्नको धारणा
अस्ट्रेलियाका स्पिन लिजेन्ड सेन वार्नले कोभिड–१९ पछि हुने क्रिकेटमा बल चम्काउनका लागि आफ्नो धारणा राखेका छन् । बल भारी भएमा बललाई चम्काउन थुक या ¥याल प्रयोग गर्नुनपर्ने उनको भनाइ छ ।

उनले बताए– ‘स्विङ गराउन बल नै भारी बनाउने, यो टेनिस बल वा लाउन बाउल्स जस्तै हुनुपर्छ । फ्लाट पिचमा फास्ट बलरलाई सहयोग पनि मिल्न जान्छ । बल भारी भएमा बोटलको बिर्को, सेन्डपेपर (खाक्सी) वा अन्य चीजले टेम्परिङ गर्नुपर्दैन । मलाई लाग्छ यसले ब्याट र बलबीच प्रतिस्पर्धा पनि हेर्नलायक हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्