रतुवा र घोरल बस्तीतिर



चिरञ्जीवी मास्के, दोलखा ।

त्यस्तै एक हप्ताको भयो होला रतुवा मृगको बच्चा, सिंगटीस्थित गौरीशङ्कर संरक्षण क्षेत्रको बगैंचामा रमाइलो मानेर यता–उता गर्ने भएको छ । अनि संरक्षण क्षेत्रबाट नजिकै देखिने तामाकोसी नदी पारिपट्टि चट्टानी भीरमा घोरलको लुकामारी पनि गजबकै छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउनको घोषणा गरेपछि मानिसको चहलपहल र सवारीसाधनको घारघुर कम भएको छ । तर, जङ्गली जनावरहरूको गतिविधि भने बढेको छ । लकडाउनले सबैतिर शान्ति छाएपछि जङ्गली जनावर निर्धक्क बस्तीतिर आउन लागेको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ ।

गत वैशाख १८ गते दोलखा विगु गाउँपालिका वडा नम्बर १ जगत्मा स्थानीयले रतुवा मृगको बच्चा फेला पारेर संरक्षण क्षेत्रमा बुझाइदिएका थिए ।

त्यही रतुवा मृगको बच्चा अहिले संरक्षण क्षेत्रको हातामा रहेको बगैंचामा मानिससँग रत्तिएर यताउती गर्ने भएको छ । ‘गौरीशङ्कर संरक्षण क्षेत्रमा ल्याउँदा रतुवा मृग १/२ दिनको मात्र भएकाले राम्रोसँग थेगिन नसक्ने अवस्थामा रहेको थियो तर अहिले यताउती रमाउँदै हिँड्ने भएको छ ।’ –संरक्षण क्षेत्रका याङ्जी शेर्पा बताउनुहुन्छ ।

लकडाउनले सबैतिर शान्त भएपछि संरक्षित वन्यजन्तुमा पर्ने रतुवा मृगको बच्चा आमासँग बस्तीतिर आएको र बस्तीतिरै अलमलिँदा आमासँग छुट्टिएको हुन सक्ने संरक्षण क्षेत्रका प्रमुख शाह बताउनुहुन्छ ।

लकडाउनकै अवधिमा विगु गाउँपालिका–४ मा रहेको सिंगटी बजारमा घोरल देखापरेको थियो । बजार छिरेको घोरल अलममा परेपछि स्थानीयले उद्धार गरी संरक्षण क्षेत्रलाई बुझाएका थिए । उक्त घोरललाई स्थानीयकै सहयोगमा उसको प्राकृतिक बासस्थानमै छोडिदिएको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

रतुवा मृगको बच्चालाई पनि अलि ठूलो र सहजै हिँड्डुल गर्न सक्ने भएपछि उसको प्राकृतिक बासस्थानमै लगेर छोडिदिने संरक्षण प्रमुख शाह बताउनुहुन्छ । लकडाउनले वन्यजन्तुलाई अन्य खासै समस्या नभए पनि शान्त वातावरणका कारण उनीहरू बस्तीतिर आउने क्रम बढेकाले सुरक्षा चुनौती भने थपिएको शाहको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्