अमेरिकी महिला फुटबल टिमको माग खारेज



क्यालिफोर्निया, (एजेन्सी)

अमेरिकाको महिला फुटबल टिमका खेलाडीलाई पुरुष फुटबलर समान तलब नदिने भएको छ । अमेरिकाको अदालतले अमेरिकी महिला फुटबल टिमलाई समान तलब दिनुपर्ने मागको याचिकालाई खारेज गरेको छ । तर अदालतले महिला खेलाडीलाई गरेको भेदभावविरुद्धको सुनुवाइको अनुमति दिएको छ । सुनवाइ १६ जुनमा हुनेछ ।

सेन्ट्रल क्यालिफोर्नियाको जिल्ला अदालतका जज गैरी क्लुजनरले याचिका खारेज गर्दै २० पेजको फैसला दिएका हुन् । उनले बताए– ‘महिला फुटबल टिमले पुरूष टिमको तर्फबाट कलेक्टिव बार्गेनिङ एग्रिमेटअनुसार पहिला दिएको प्रस्ताव मान्न अस्वीकार गरेको थियो । महिला टिमलाई समान तलब दिँदा कानुनी रुपमै ६६ मिलियन डलर दिनुपर्ने माग राखिएको थियो ।’ अदालतले यसलाई खारेज गरेको थियो ।

अमेरिकी महिला टिमका स्टार खेलाडी मेगान रेपिनोले निरास भए पनि हार नमान्ने बताइन् । उनले भनिन्– ‘समान तलब मागको लडाइँ जारी राख्नेछांै । फैसला हाम्रो पक्षमा छैन, तर हामी रोक्नेछैनौं र संघर्ष जारी छ ।’

अमेरिकी महिला फुटबल टिमले ४ पटक फिफा विश्वकप जितेको छ । जबकि पुरुष अमेरिकी फुटबल टिमले एकपटक पनि उपाधि जित्न सकेको छैन । महिला टिमले १९९१ मा पहिलोपटक विश्वकप चुमेको थियो । यसपछि १९९९, २०१५ र २०१९ मा टिम विश्व विजेता बन्यो ।

गत विश्वकपमा उपाधि जित्दा अमेरिकी महिला टिमले ४ मिलियन डलर प्राप्त गरेको थियो । यो पुरुष विश्वकपको भन्दा निकै कम पुरस्कार रकम हो । फ्रान्सको पुरुष फुटबल टिमले २०१८ को विश्वकप जित्दा ३८ मिलियन डलर प्राप्त गरेको थियो । अमेरिकी महिला फुटबलका स्टार खेलाडी एलेक्स मोर्गानले बताइन्– ‘हामीलाई पुरुष टिम विजेतालाई भन्दा झन्डै १० गुणा कम रकम मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्