उहानमा फुटबल प्रशिक्षण सुरु



बेइजिंग, (एजेन्सी) ।

चाइनीज सुपर लिग क्लब वुहान जल्ल क्लबका खेलाडीहरुले शुक्रबारदेखि कोरानाको जन्मभूमि वुहानमा रहेको घरेलु मैदानमा ट्रेनिंग सुरु गरेका छन् ।

कोरोना भाइरसको उद्गमस्थल वुहानमा १ सय चार दिनपछि घरेलु टिम वुहान जल्लले ट्रेनिंग सुचारु गरेको हो । ट्रेनिंगका लागि वुहान जल्ल क्लबका खेलाडीहरु गत १८ अप्रिलदेखि नै घरेलु सहर फर्किन थालेका हुन् । ट्रेनिंगका लागि उनीहरु तीन महीना अघि स्पेन पुगेका थिए । तर, त्यहाँ कोरोना भाईरसका कारण उनीहरु लक डाउनमा फसेका थिए ।

ट्रेनिंग सुरु गरिएपनि क्लबले आफ्ना खेलाडी, प्रशिक्षक र स्टाफलाई भने अन्य सामाजिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ । क्लब ब्यवस्थापनले हरेक दिन उनीहरुको शरीरको तापक्रम जाँच्ने गरेका छन् । त्यसैगरी खेलाडीहरुको ड्रेसिंग रूम, मैदानको प्रवेशद्धार, क्यान्टिन र फिटनेस सेन्टरलाई पूर्ण रुपमा सेनिटाइज गरेर मात्र प्रवेश गराईएको छ । वुहान जल्ल गत सिजन चाइनीज सुपर लिगको छैटौँ स्थानमा रहेका थिए ।

त्यसैगरी डिफेन्डिंग च्याम्पियन ग्वांगझू एभरग्रान्डे ताओबाओ क्लबले पनि ट्रेनिंग सुरु गरेका छन् । लिग भने गत फेब्रुअरीबाट नै स्थगित रहेको छ । त्यसक्रममा क्लबलाई करीब ३ हजार करोड नेपाली रुपैयाँ बराबर नोक्सान भएको बताइएको छ । एभरग्रान्डे त्यही क्लब हो, जहाँ अहिले विश्वकै सबैभन्दा ठूलो स्टेडियम निर्माण गर्न लागिएको छ । आयोजकले आगामी जूनदेखि लिग पुनस् सुरु हुने आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्