मुर्रे मेड्रिड ओपन भर्चुअल टेनिस च्याम्पियन



लन्डन, एजेन्सी ।

ब्रिटिश खेलाडी एण्डी मुर्रे मेड्रिड ओपनको भर्चुअल टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले अनलाईनमार्फत् घरमै बसेर मेड्रिड ओपन टेनिसको भर्चुअल प्रतियोगिताको उपाधि जितेका हुन् ।

अनलाईनमार्फत् भएको प्रतियोगिताको फाइनलमा उनले डेभिड गफिनलाई ७–६(५) ले हराउँदै च्याम्पियन बनेका हुन् । उपाधि जितेसँगै उनले एक लाख ५० हजार युरो पुरस्कार समेत प्राप्त गरेका छन् ।

पुरस्कारको केही प्रतिशत उनले टेनिसका तल्लो वरियताका खेलाडीहरु तथा ब्रिटेनको स्वास्थ्य विभागलाई सहयोग स्वरुप प्रदान गर्ने बताइएको छ । उनले ४५ हजार अमेरिकी डलर टेनिस प्लेयर रिलिफ फन्ड र एनएचएसलाई दिने घोषणा गरेका हुन्।

कोरोना भाइरसका कारण टेनिस प्रतियोगिताहरु ठप्प रहेको अवस्थामा आर्थिक रुपमा अप्ठेरोमा परेका तल्लो वरियताका खेलाडीलाई मुर्रेले सहयोग गर्ने भएका हुन् । यतिमात्र होइन, उनले स्कटल्याण्डको राष्ट्रिय स्वास्थ्य विभागलाई पनि रकम सहयोग गर्ने बताइएको छ।

त्यस्तै महिलातर्फको उक्त उपाधि किकी बर्टेन्स्ले जितेकी छन् । उनले फ्रान्सकी फियोना फेर्राेलाई हराउँदै अनलाईन भर्चुअल टेनिसको उपाधि जितेकी हुन् । कोरोनाको कारण विश्वका अधिकांश देशहरूमा लक डाउनको स्थिति रहँदा टेनिसका स्टार खेलाडीहरु यतिबेला भिडियो गेममार्फत् चलिरहेको अनलाईन टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्नमा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्