पीएसजी लिग वान च्याम्पियन बन्ने



लन्डन, एजेन्सी ।

फ्रान्स फुटबल फेडेरेसनले पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबलाई यो सिजनको फ्रेन्च लिग वानको बिजेता घोषणा गर्ने भएको छ । फ्रान्सका प्रधानमन्त्रीको आदेशसँगै फुटबल गतिविधि ठप्प गर्ने निर्णय लिएको फ्रान्स फुटबल फेडेरेसनले उक्त निर्णय लिएको हो । केहि दिनअघि मात्र फ्रान्सका प्रधानमन्त्रीले सेप्टेम्बरसम्म कुनै किसिमका खेल गतिविधि नहुने घोषणा गरेका थिए ।

यस्तो अवस्थामा लिग उपाधि नजिक पुगेको पीएसजीलाई च्याम्पियन घोषणा गर्न लागिएको हो । कोराना भाइरसका कारण जारी सिजनको लिग बीचैमा रोकिएपछि अंक तालिकामा २७ खेलबाट ६८ अंक सहित पीएसजी शीर्ष स्थानमा छ ।

त्यस्तै २८ खेलबाट ५६ अंक सहित मार्सेले दोस्रो र २८ खेल नै खेलेर ५० अंक जोडेका रेनिस तेस्रो भएका छन् । क्लब ईतिहासमा भने ९ पटक लिग वानको उपाधि जितेको पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । यससँगै पिएसजी अर्को सिजन च्याम्पियन्स लिगमा समेत छनोट हुने देखिएको छ ।

यसका लागि भने युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले लिग पूरा नभएपनि संघको प्रस्ताव मान्नुपर्ने हुन्छ । यूईएफएले यसअघि नै मे २५ सम्ममा लिग सुचारु गर्ने अवस्था बनाउन आग्रह गरेको थियो ।   त्यसैगरी रेलिगेसन हुने टोलीहरुको टुंगो लाग्न भने बाँकी रहेको एफएफएफले जनाएको छ ।

नाइम्स, एमिन्स र टुलूसले यी तीन टोलीहरु रेलिगेसन जोनमा छन् । यसैगरी फ्रान्समा सेप्टेम्बरसम्म कुनै फुटबल खेल नहुने पनि फ्रान्सको उच्च निकायहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्