श्रवण, तिमी नाग हौ-गेल



लन्डन, (एजेन्सी)

‘श्रवण तिमी नाग हौ, तिमी दुष्ट हौ, तिमी विष हौं ।’ भन्दै वेस्ट इन्डिजका लिजेन्ड क्रिस गेलले रामनरेश श्रवणलाई यसरी रिस पोखेका छन् । मंगलबार १५ मिनेटको युट्युब भिडियोमा गेलले आफ्ना साथी श्रवणको आलोचना गरेका हुन् । श्रवण वेस्ट इन्डिजका पूर्वकप्तानसमेत हुन् ।

४० वर्षीय गेललाई जमैका टलावाहसले नयाँ संस्करणको क्यारिबियन प्रिमियर लिगअघि गत साता मुक्त गरेको थियो । उनले यसमा सहायक प्रशिक्षक श्रवणलाई दोषी ठहराएका छन् ।

गेलले बताए–‘श्रवण तिमीलाई क्यारिबियनमा कसैले मन पराउँदैनन् । तिमी अहिलेसम्म पनि मान्छेहरुलाई पछाडिबाट छुरा हानिरहेका छौं । तिमी अझै अपरिपक्व व्यक्ति हो ।

गेलले टलावाहसलाई २०१३ र २०१६ मा उपाधि दिलाएका थिए । यसपछि उनी सेन्ट किट्स एन्ड नेभिस पेट्रियटस्मा खेलेका थिए । उनी गत वर्ष फेरि पुरानै क्लबमा फर्केका थिए । उनले दोस्रो खेलमा १ सय १६ रन बनाए पनि १० इनिङमा २ सय ४३ रन मात्रै बटुलेका थिए । टलावाहस अंक तालिकाको पुछारमा रहेको थियो ।

गेलले यसै वर्षको प्रतियोगितामा सेन्ट लुसिया जौक्सका लागि सम्झौता गरेका छन् । उक्त प्रतियोगिता अगस्टदेखि शुरु गर्न लागिएको छ । गेल वान डेमा वेस्ट इन्डिजका सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले श्रवणसँग ७० टेस्टमा सँगै खेलेका थिए । ३९ वर्षीय श्रवणले २०१६ मा सन्यास लिएका थिए ।

सन् १९९६ देखि नै श्रवणले नसहेको गेलले बताएका छन् । उनले भिडियोमा भनेका थिए–‘१९९६ बाट जब हाम्रो युवा क्रिकेट शुरु भएको थियो, यु १९ को वेस्ट इन्डिजको टिममा हामीले एउटै कोठामा सुत्ने गथ्र्यौं ।’ उनले व्यवस्थापकलाई भनेर मलाई बार्बाडोसबाट घर फर्काएका थिए । मैले माफि दिए पनि यो कहिल्यै बिर्सेको छैन । उनले मैले रातभरि टिभी हेरर सुत्न नदिएको ममाथि आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्