खाता नम्बर नमिलेकाले पुरस्कार पाएनन्



न्युज अफ नेपाल, काठमाडौं।

गत मंसिरमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताका पदक विजेताहरु मध्ये केहीले खाता नम्बर नमिलेका कारण पुरस्कार रकम अझै पाएका छैनन् ।

सरकारले साग सकेलगत्तै पुरस्कार दिने घोषणा गरे पनि कार्यविधि लगायत अन्य प्रक्रियागत कारणले ढिला गरि खेलाडीको बैंक खातामा रकम पठाएको थियो । तर, खाता नम्बर नै गल्ति हुँदा कतिपय खेलाडीहरुको खातामा अझै पैसा जम्मा हुनसकेको हो ।

यो विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले केही खेलाडीहरुले खाता नम्बर गलत पठाएकोले रकम जम्मा नभएको बताए। सच्याएर खाता नम्बर पठाएपछि अहिले त्यसमा काम भइरहेको र २६ जनाको काम हुन बाँकी रहेको बताए ।

उहाँले बिहीबारसम्ममा सबै काम सकिने पनि जानकारी गराए । त्यस्तै, प्रशिक्षकहरुले पुरस्कार रकम नपाएको विषयमा भने प्रतियोगिता अघि लगेको पेश्की रकम फर्छ्यौट गरेपछि तत्कालै खातामा पुरस्कार रकम जाने सदस्यसचिव सिलवाल बताए ।

१३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि नेपालले कुल २ सय सात पदक प्राप्त गरेको थियो । सागमा ऐतिहासिक उपलव्धि हासिल गरेपछि सरकारले खेलाडीलाई सम्मानसहित नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । जसमा यसपटक खेलाडीहरुको पुरस्कारमा कर पनि कट्टी गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्