कोरोना भाइरसले खेलाडीको मूल्य घटायो



लन्डन, (एजेन्सी)

कोरोना भाइरसको महामारीले खेलमा मात्रै होइन खेलाडीको मूल्यमा समेत प्रभावित पारेको छ । विश्वकै उत्कृष्ट खेलाडी लियोनेल मेसीको अहिलेको अनुमानित मूल्य १ सय १ मिलियन पाउन्डभन्दा कम भएको छ । विश्वका महँगा खेलाडीले कोरोनाको कारण आफ्नो मूल्य घटेको हेर्नुपरेको छ ।

विश्वका मूल्यवान खेलाडीको सूचीमा ३२ वर्षीय बार्सिलोनाका मेसी ३० वर्षमाथिको एक मात्र खेलाडी हुन् । जेडोन सान्चो, काइ हावर्टज र जोओ फेलिक्स मात्र २० वर्षको उमेरका युवा खेलाडी हुन् ।

युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने सर्वाधिक मूल्यवान खेलाडीको शीर्ष २५ को सूचीमा परेनन् । सो सूचीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर क्लियन एमबाप्पे शीर्ष स्थानमा छन् । सीआईईएस फुटबल अब्जरभेटोरीले हालै महामारीको समयमा निकालेको सूचीअनुसार खेलाडीको मूल्य २८ प्रतिशतले घटेको छ ।

ट्रान्सफर मार्केटमा हरेक फुटबलरले आफ्नो मूल्य घटेको देखेका छन्, जसमा शीर्ष १० मा अटेका ६ जना प्रिमियर लिग खेलाडी पनि छन् । २१ वर्षीया फ्रेन्च खेलाडी एमबाप्पेको अनुमानित मूल्य १६२ मिलियन पाउन्ड रहेको छ । उनी विश्वकप २०१८ का विजेता खेलाडीसमेत हुन् । फुटबल स्थगित हुन अघि उनको मूल्य १८० पाउन्ड थियो । हाल उनको मूल्यमा १० प्रतिशतले ह्रास आएको छ ।

यसै गरी दोस्रो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ र पीएसजीका विङ्गर नेयमार संयुक्त रुपमा रहेका छन् । दुवैको मूल्य १ सय ४४ मिलियनबाट १ सय १५.२ मिलियन पाउन्डमा झरेको छ । टोटनहामका स्ट्राइकर हेरी केनको मूल्य १०८ मिलियन पाउन्ड तोकिएको छ । यो यसअघिको मूल्य १३५ मिलियन पाउन्डको थियो ।

यस्तै लिभरपुलका मोहमद सालाहको मूल्य पनि घटेको छ । उनको मूल्य १ सय ३५ मिलियनबाट १ सय ८ मिलियन पाउन्डमा पुगेको हो । साथै लिभरपुलकै खेलाडीहरु साडियो माने र केभिन डी ब्रुएनको मूल्य पनि सालाहको झै १ सय ३५ मिलियनबाट घेर १ सय ८ मिलियनमा झरेको हो ।

जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डका चर्चित खेलाडी सान्चोको मूल्य १ सय १७ मिलियनबाट १ सय ५.३ मिलियन पाउन्डमा पुगेको छ । उनी पछि रहेका मेसीको मूल्य १००.८ मिलियन पाउन्ड निर्धारित भएको छ । यसअघि मेसीको मूल्य १ सय २६ मिलियन पाउन्ड रहेको थियो ।

२१ वर्षीय लिभरपुलका खेलाडी ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको मूल्य ९९ मिलियनबाट ८९.१ मिलियन पाउन्डमा झरेको छ । लिभरपुलका अन्य खेलाडीहरु भर्जिल भान डिएकको मूल्य ७२ मिलियन पाउन्ड तथा एलिसन र रोबेर्टोको मूल्य ६४.८ मिलियन पाउन्ड रहेको छ । यसअघि तीनै जनाको मूल्य ८१ मिलियन पाउन्डमा थियो ।

यसैगरी ७२ मिलियन पाउन्डको मूल्यमा रहेका खेलाडीमा चेल्सीका नगोलो कान्टे, एट्लेटिको मेड्रिडका गोलकिपर जान ओब्लाक, रियल मेड्रिडका विङ्गर इडेन हजार्ड, लेरोय साने र बर्नान्डो सिल्भा तथा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा हुन् । उनीहरु सबैको मूल्य यसअघि ९० मिलियन पाउन्डमा थियो । ट्रान्सफर मार्केटले आउँदा दिनमा खेलाडीको मूल्य अझै घट्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्