प्रशिक्षकमाथि अन्याय गरियो



न्युज अफ नेपाल, काठमाडौं ।

एउटा खेलमा पदक ल्याउनमा खेलाडीको उत्कृष्ट प्रदर्शनको भुमिका महत्वपूर्ण हुन्छ । खेलाडीलाई उत्कृष्ट बनाउन सबैभन्दा ठूलो योगदान प्रशिक्षकको हुन्छ । एउटा खेलाडीलाई प्रशिक्षण दिएर उत्कृष्ट बनाउन प्रशिक्षक दिनरात लागेको हुन्छ । तर उनै प्रशिक्षकमाथि विभिन्न कारण देखाइ ध्यान नदिनु उनीहरुमाथि अन्याय गर्नु हो ।

यतिबेला १३औं दक्षिण एसियाली खेलकुदमा पदक जिताउने विभिन्न खेलका प्रशिक्षकहरुको एउटै गुनासो छ —‘हामीले पुरस्कार रकम कहिले पाउने’ ।
सरकारले घोषणा गरे अनुसार १३औं सागमा पदक विजेता खेलाडीको खातामा पुरस्कार रकम पठाइसकेको छ । तर प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई केही प्रक्रिया नमिलेको भन्दै रकम पठाएको छैन ।

नेपाललाई पुरुष फुटबलमा स्वर्ण दिलाएका बालगोपाल महर्जनले पनि रकम नपाएको गुनासो गर्नुभयो । महर्जनले न्युजअफ नेपाललाई भन्नुभयो—रकम पाउनुपर्ने हो, हामीले कति मेहनत गरेका थियौं, देशका लागि भनेर हामीले सबै कुरा छाडेर खेलमा लाग्यौ, तर पुरस्कार रकम अहिलेसम्म नपाउनु दुर्भाग्य हो । राष्ट्रको लागि पाएको पदकले राष्ट्रकै शिर उँचाइमा राख्छ, त्यसैले सीधै रकम खातामा राखिदिएमा केही बिग्रने त होइन । यसमा राष्ट्रिय खेलकुद परिषदले सहज वातावरण मिलाइदिनुपर्ने हो । विभिन्न कारण देखाउनु जायज छैन ।

पुरस्कार रकम घोषणा भएको पनि ६ महिना भइसकेको छ । गत मंसीर १५ देखि २५ गतेसम्म नेपालमा भएको प्रतियोगितामा नेपालले ५१ स्वर्णसहित कूल २०७ पदक जितेको थियो । यतिबेला राष्ट्रिय खेलकुद परिषदको भुमिका कमजोर देखिएको छ । परिषदले प्रशिक्षक र सहायक प्रशिक्षकले पेश्की फर्छयौट गर्नुपर्ने प्रक्रिया बाँकी रहेको भन्दै उनीहरुको नामावली पनि नपठाएको जानकारी प्राप्त भएको छ ।

यसैकारण खेलकुद मन्त्रालयले रकम पनि निकासा गर्न सकेको छैन । परिषदका एक पदाधिकारीले बताउनुभयो—अहिले देशमा लकडाउन चलेको छ, यसैले पनि वहाँहरुलाई रकम निकासा गराउन संभव नभएको हो । वहाँहरुको पेश्की रकम फछर्यौट हुनुपर्ने व्यवस्था कार्यविधिमै उल्लेख भएको हुँदा रकम खातामा पु¥याउन नसकेको हो ।

नियममा के रहेछ भने पुरस्कार र सम्मान कार्यविधिमा पुरस्कार लिनका लागि ३ महिनाभित्र परिषदमा रहेको पेश्की फछर्यौट गरिसक्नु पर्नेछ । सरकारलाई तिर्न वा बुझाउनु पर्ने छ भने त्यसको बेरुजु क्लियर छ भनेर तोक्नुपर्छ । यसैगरी खेल संघले पनि सरकार र परिषदलाई तिर्न बुझाउनु पर्ने कुनै रकम बेरुजु नरहेको हुनुपर्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले समेत प्रशिक्षकले पुरस्कार नपाएकोमा सामाजिक सञ्जालबाटै सम्बन्धित निकायप्रति प्रश्न गर्नुभयो । विगतमा सागको करातेमा स्वर्ण पदक समेत जितिसकेका श्रेष्ठले लेख्नुभएको थियो–प्रशिक्षकलाई चाहिँ विभिन्न कारण देखाउँदै सम्मान नगर्दा अपमान भएन र ? यस्तो निर्णय गरी प्रशिक्षकलाई अपमानित गर्दा पनि अरुबेला सबै प्रशिक्षक कर्मचारीको अभिभावक संस्था हामी हौं भन्नेहरु कुन दुलोमा छन् ? पेश्कीकै कारण प्रशिक्षकलाई पुरस्कार नदिनु कत्तिको न्यायोचित हो ? ’

१३औं सागमा स्वर्ण जितेका प्रशिक्षकलाई ५ लाख रुपियाँको पुरस्कार दिने घोषणा भएको थियो । त्यस्तै रजत र कांस्यको लागि क्रमशः ३ र २ लाख नगद दिइने घोषणा भएको थियो । सहायक प्रशिक्षकको हकमा स्वर्ण, रजत र कांस्य जित्नेले क्रमशः ३, २ र १ लाख पाउनेछन् । खेलसंघतर्फ पनि शीर्ष तीन हुनेले क्रमशः ५, ३ र २ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्