फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाउने



ज्यूरिच, (एजेन्सी)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फुटबल म्याचका क्रममा पाँच जना खेलाडीसम्म परिवर्तन गर्न पाउने नयाँ नियम लागु गर्ने भएको छ। यस अघि एक खेलमा अधिकतम तीन खेलाडी स्थापन्न गर्न पाउने नियम रहेको थियो ।

कोरोनाका कारण प्रतियोगिता र लिगहरु रोकिएका कारण अागामी दिनमा खेल र समय मिलाएर धेरै भन्दा धेरै खेल खेलाउनका लागि सहजीकरण गर्न लागिएको फिफाले जनाएको छ। खेलाडीहरु घाइते नहुन भनेर पुरानो नियममा परिमार्जन गर्न लागेको हो। फिफाका प्रवक्ताले कोरोनाको प्रभाव सकिएपछि फुटबल प्रतियोगिताहरु सुचारु हुँदा यो नियम लागु हुने बताएका छन् ।

फिफाले यो नियम लागु गर्नु अघि फुटबलको नियमनकारी निकाय इन्टरनेशनल फुटबल एसोसियशन बोर्ड (आईएफएबी) ले स्विकृती दिन पर्नेछ। यसलाई लागु गर्ने वा नगर्ने अधिकार भने प्रतियोगिता आयोजकमा नीहित रहनेछ । फिफाले यो नियम डिसेम्बर ३१, २०२१ सम्म मात्र लागु हुने जनाएको छ । त्यसपछि भने तीन जना मात्र परिवर्तन गर्न पाउने पुरानै नियमले निरन्तरता पाउने छ।

प्रतिक्रिया दिनुहोस्