टाइसन फेरि रिङमा उत्रने योजनामा



लन्डन, (एजेन्सी)

कोभिड–१९ का कारण विश्वभरि लकडाउनको अवस्थामा विश्वकै महान् बक्सर माइक टाइसन प्रशिक्षणमा रहेका छन् । पूर्व हेभिवेट च्याम्पियन टाइसनले झुन्ड्याइसकेको ग्लोभलाई फेरि लगाउन चाहेका हुन् । उनले बक्सिङमा पुनरागमन गर्न चाहेको बताएका छन् । उनी फेरि एकपटक रिङमा फर्कने चाहनामा छन् । यसपटक उनी कुनै उपाधिका लागि नभई एउटा च्यारिटीका लागि लड्ने उनले बताए ।

टाइसनले चार चरणको प्रदर्शनी खेलमा खेल्ने योजना बनाएका छन् । आइरनको संज्ञा पाएका उनले अन्तिमपटक जुन २००५ मा प्रतिस्पर्धा गरेका थिए । उनको व्यावसायिक करियरको सो अन्तिम खेलमा केभिन म्याकब्राइडद्वारा पराजित भएका थिए ।

टाइसनले २० वर्षको युवा उमेरमा विश्व हेभिवेट च्याम्पियन बन्न सफल भएका थिए । उनको २० वर्षको करियरमा ५० प्रतिद्वन्द्वीमध्ये ४४ जना उनको मुक्काबाट नकआउट भएका थिए । उनका पूर्वप्रशिक्षकले हाल ५३ वर्षमा लागेको टाइसनले यदि ६ हप्ताको प्रशिक्षण लिएमा अमेरिकन डीओन्टे वाइल्डरलाई १ मिनेटमै नकआउट गर्न सक्ने दाबी गरेका छन् ।

‘मैले गत सातादेखि प्रशिक्षण गरिरहेको छु, रिङमा आउन कोसिस गरिहेको छु । म जिम जान लागेको छु, यसले मेरो शरीरलाई तीन वा चार चरण प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ । यो केही च्यारिटीका लागि हो । केही रकम उठ्नेछ र घरविहीन भएका र ड्रगमा लागेकालाई सहयोग गर्न चाहन्छु’ –टाइसनले आफ्नो इन्स्टाग्राममार्फत् भनेका छन् ।

टाइसनलाई जगत्कै सबैभन्दा खराब मान्छेको समेत उपनाम दिइएको थियो । तर उनले हाल आफू निकै सुध्रिसकेको बताए । उनले भने– ‘म भिन्नै मान्छे बनिसकेको छु । मैले नेपोलियन, एलेक्सान्डरबारे अध्ययन गरेको छु । मलाई लड्ने कला, युद्धकला थाहा छ, यी सबै मैले अध्ययन गरें । त्यसैकारण रिङमा हुँदा म डराएको थिएँ, उनीहरुले मलाई तर्साएका थिए ।’

टाइसले ती समय बितिसकेको भन्दै बताए– ‘तीन दिन बितिसकेको छ, यो खेलाडी छन्, म केही होइन । म नम्र भएर काम गरिरहेको छु । पहिलाको टाइसन म अहिले होइन, कहिलेकाहीं त्यो मान्छे (पहिलेको टाइसन) बाहिर निस्कन सक्छ, तर म आउन दिने छैन । यदि त्यो व्यक्ति बाहिर आयो भने नर्कसमेत आउनेछ । म कडा मान्छे हुँ, यस्तो मात्र हो कि म त्यो मान्छेलाई घृणा गर्छु र म उनीसँग डराएको छु ।’

एक समयमा टाइसन स्वयम् पनि ड्रग एडिक्ट थिए । उनलाई उनकी श्रीमती लाकिहा स्पाइसरले साथ दिएपछि स्वस्थ बनेका हुन् । सन् २००९ देखि उनीहरुको विवाहित जीवन अहिलेसम्म राम्रै भइरहेको पनि टाइसनले बताएका छन् । उनीहरु दुवैको गरी हाल ३ मिलियन डलर सम्पत्ती रहेको छ । जबकि खेल करियरको समयमा टाइसनसँग ३ सय मिलियन डलरको सम्पत्ति थियो । सन् २००३ मा दिवाला भएका उनले सन् २००५ मा खेल जीवनबाट सन्यास लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्