नेपाललाई साईत नजुरेको साफ फाइनल



कविरस शर्मा, काठमाण्डौं ।

दक्षिण एसियाली खेलकूदको फुटबलतर्फ ४ पटक स्वर्ण जितिसकेको नेपाल दक्षिण एसियाली फुटबल फेडेरेसन च्याम्पियनसिप साफ मा भने अहिलेसम्म फाइनलसम्म पनि पुग्न सकेको छैन । सार्कमा आबद्ध ८ राष्ट्रमध्ये ५ राष्ट्रले दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

जसमध्ये भारत सर्वाधिक ७ पटकका च्याम्पियन टोली हो भने माल्दिभ्सले दुई पटक उपाधि उचालेका छन् । त्यस्तै श्रीलंका, बंगलादेश, र अफगानिस्तानले समेत समान एक–एक पटक उपाधिमा आफ्नो नाम लेखाएका छन् । तर, भूटान र समान दुई–दुई पटक आयोजक बनिसकेको नेपाल र पाकिस्तानले भने अहिलेसम्म साफ उपाधि जित्न सकेको छैन । यति मात्र होईन, प्रतियोगितामा ४ पटक सेमिफाइनल पुगेको नेपाल र तीन पटक सेमीफाइनल पुगेको पाकिस्तान फाइनलसम्म पनि पुग्न सकेको छैन ।

सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क ब्रिस्टल गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगिता समेत जोड्दा आगामी १९ देखि ३० सेप्टेम्बरसम्म बंगलादेशमा हुने साफको १३ औँ संस्करण हुनेछ । दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । सन् २०१३ मा काठमाडौमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगे पनि अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलबाटै विदा भएका थिए ।

यसपटक १३औं संस्करण पनि बंगलादेशले नै आयोजना गर्दैछ । आगामी १९ देखि ३० सेप्टेम्बरसम्म बंगलादेशमा १३औं साफ आयोजनाको मिति तोकिएको छ । सन् २००३ पछि यो समेत गरी बंगलादेशले चार पटक साफ आयोजना गर्न लागेको हो । यसअघि सन् २००३, २००९ र २०१८ मा गरी तीन पटक बंगलादेशमा साफ भएको थियो । गत संस्करण आयोजना गरेको बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मा पाएको छ ।

त्यसअघि पाकिस्तानमा गर्ने कुरा तय भएपनि पछि बंगलादेशमा नै गर्ने निर्णय गरिएको हो । यो जोड अंकको सालमा हुने अन्तिम साफ च्याम्यिनसिप समेत हुनेछ । अबदेखि साफको आगामी संस्करणहरु बेजोडा अंकको सालमा मात्र गर्ने निर्णय भएको छ । तर, कोरोना भाइरसका कारण सारा विश्वले अहिले मानवीय संकट झेलिरहेको स्थितिमा साफको १३औं संस्करण हुने वा नहुनेमा अन्योल छ । यूरोकप, ओलम्पिक जस्ता प्रतिष्ठित प्रतियोगिताहरुको मिति सरिसकेको वर्तमान अवस्थामा साफ पनि नसर्ला भन्न सकिन्न ।

साफ च्याम्पियनसिपको कुरा गर्दा भारत सर्वाधिक सफल टिम हो । १२ मध्ये भारतले सातवटा संस्करणको उपाधि जितेको छ । त्यस्तै तीनपटक उपविजेता बनेको छ । माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक उपाधि जितेका छन् । पाकिस्तान, भुटान र नेपालले अहिलेसम्म फाइनलको यात्रा पनि तय गर्न सकेको छैन । १२औं संस्करण सकिँदासम्म नेपालले कुल तीन पटक सेमिफाइनल खेलेको छ । सन् १९९९, २०११ र २०१३ मा सेमिफाइनल खेलेको नेपालको फाइनल साइत अझै जुरेको छैन।

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएका यस प्रतियोगिता पाकिस्तानको लाहोरमा भएको थियो । आयोजक पाकिस्तानसँगै नेपाल, भारत र श्रीलंकाले सहभागिता जनाएको पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो । लिगमा प्राप्त अंकको आधारमा विजेताको निर्णय गरिएको सो संस्करणमा भारत च्याम्पियन बनेको थियो । पाकिस्तान र श्रीलंकासँग बराबरी खेलेको नेपाल भारतसँग पराजित भएको थियो ।

सन् १९९५ मा भएको दोस्रो संस्करणमा बंगलादेश पनि सहभागी भएको थियो । समूह चरणका दुई खेलमध्ये एकमा जित निकालेर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा भने श्रीलंकासँग अतिरिक्त समयमा ’गोल्डेन गोल’ को आधारमा पराजित भएको थियो । प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंकाले अतिरिक्त समयमा जित निकाल्दै उपाधि उचालेको थियो ।

सन् १९९७ मा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो । अघिल्लो संस्करणमा नाम फिर्ता लिएको माल्दिभ्सले पनि यसपटक डेब्यु गरेका थिए । तर, आयोजक नेपालको प्रदर्शन यसपटक झनै खराब रह्यो । नेपालले समूह चरण पनि पार गर्न सकेन । प्रतियोगिताको उपाधि भने भारतले नै जित्यो । भारतमा आयोजना भएको सन् १९९९ को संस्करणमा भुटान र अफगानिस्तान पनि सहभागी भएका थिए ।

यस पटक सेमिफाइनलसम्म पुगेको नेपाल बंगलादेशसँग पराजित हुदै चौथो स्थानमा खुम्चिए । बंगलादेशलाई हराउँदै भारतले नै तेस्रो पटक उपाधि जित्यो । त्यसपछि सन् २००३, २००५, २००८ र २००९ को संस्करणमा नेपालले समूह चरण पनि पार गर्न सकेन । सन् २०१३ को संस्करण नेपालमा नै आयोजना भएको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपालको यात्रा फेरी एकपटक पूर्ण विराम लाग्यो ।

सन् २०१५ मा भारतमा आयोजना भएको ११औं संस्करणमा नेपालले समूह चरण पनि पार गर्न सकेन । भारत सातौं पटक च्याम्पियन बनेको उक्त संस्करणमा अफगानिस्तानले उपविजेतामा चित्त बुझायो । त्यसपछि सेन्ट्रल एसिया फुटबल फेडेरेसनको सदस्य बनेपछि अफगानिस्तान साफबाट बाहिरियो । त्यस्तै २०१८ मा बंगलादेशमा भएको १२औ साफको सेमिफाइनलमा पनि माल्दिभ्ससंग पराजित भएपछि नेपालको फाइनल पुग्ने सपना फेरि एकपटक तुहिएको थियो ।

दक्षिण एसियाली खेलकुदमा ४ पटक स्वर्ण जितेको नेपालले साफमा भने अहिलेसम्म फाइनलसम्म पनि स्थान बनाउन नसक्नु दुर्भाग्यपूर्ण हो । दक्षिण एसियामा नेपालले हराउन बाँकी कुनै टोली छैन । तर, साफमा कहां चुक्ने गरेको छ त भन्ने विषयमा भने सूक्ष्म अध्ययन हुन बांकी नै रहेको छ ।

साफमा नेपाल


सन् १९९३ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)( गोल्डकपको नामबाट पाकिस्तानले पहिलो पटक क्षेत्रीयस्तरको फुटबल प्रतियोगिता आयोजना गरेको थियो । लाहोरमा भएको यस प्रतियोगितामा दक्षिण एसियाबाट आयोजक पाकिस्तानसहित नेपाल, श्रीलंका र भारत गरी कुल चार राष्ट्रले प्रतिस्पर्धा गरेको थियो ।

जसमा भारतले उपाधि चुम्दा नेपाली टोलीले तेस्रो स्थानमा नै चित्त बुझाउनु परे । समूह चरणमा नेपालले पाकिस्तानसँग १–१ गोल तथा श्रीलंकासंग गोलरहित बराबरी खेल्दा भारतसँग १–० ले हार बेहोरेका थियो । समूहमा सर्वाधिक अंक जोडेका भारत, श्रीलंका, नेपाल र पाकिस्तान क्रमशः पहिलो देखि चौथो स्थानमा सूचीकृत बनेका थिए ।

सन् १९९५ मा सार्क ब्रिस्टल गोल्डकपको नामबाट श्रीलंकामा दोस्रो संस्करण आयोजना गरिएको थियो । खेलको अन्तिम समयमा माल्दिभ्सले आफ्नो नाम फिर्ता लिएपछि आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान र भारत गरी कुल ५ राष्ट्र प्रतिस्पर्धामा उत्रेका थिए । समूह ‘ए‘ मा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई २–० ले पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो ।

पाकिस्तानविरुद्ध महत्वपूर्ण जित निकाल्दा नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गर्ने हरि खड्काले आफ्नो अन्तराष्ट्रिय डेब्यू खेलमा नै पहिलो गोल गरेका थिए । सेमिफाईनलमा भने नेपाली टोलीले दुर्भाग्यपूर्ण हार बेहो¥यो । नियमित समयसम्म दुवै टोलीको १–१ गोल भएपछि खेल अतिरिक्त समयसम्म लम्बियो । जसको अन्तिम मिनेटमा गोल बेहोरेपछि उत्कृष्ट लयमा देखिएको नेपाली टोलीलाई श्रीलंकाले अन्ततः २–१ ले पराजित गर्यो ।

भारतीय फुटबलका सुपरस्टार भाईचुंग भुटियाले पनि अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेको उक्त प्रतियोगिताको सेमिफाइनलबाटै नेपाली टोली बाहिरिए पनि नेपाली फुटबलरले भने एसियामा चर्चा बटुल्यो । नेपाली टोलीका मिडफील्डर उमेश प्रधानलाई उक्त समयको चर्चित अन्तर्रािष्ट्रय खेल सञ्चार माध्यम प्राईम स्पोर्ट्सबाट प्रसारण हुने ‘एसियन फुटबल शो‘ ले ‘एसियन प्लेयर अफ दि मन्थ‘ घोषणा गरिएको थियो ।

नेपालले सन् १९९७ मा प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरेको थियो । जसमा आयोजक नेपालसहित पाकिस्तान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भारत प्रतिस्पर्धामा उत्रेको थियो । काठमाडौंमा भएको उक्त तेस्रो संस्करणमा नेपालको प्रदर्शन बिर्सनलायक बन्यो । समूह ‘ए‘ अन्तर्गत रहेको आयोजक नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–० ले तथा दोस्रो खेलमा श्रीलंकासँग ३–१ ले हारेपछि समूह चरणबाटै बाहिरियो ।

सहभागी भएको पहिलो अवसरमा नै फाईनलसम्मको यात्रा तय गर्ने क्रममा माल्दिभ्सले श्रीलंकाली खेलाडीहरुको कुटाई खानुपरेको थियो । सेमिफाईनल खेल पश्चात दुवै देशका खेलाडीबीच भएको कुटाकुटले केही समय दशरथ रंगशाला रणभूमिमा परिणत भएको थियो । फाईनलमा भने माल्दिभ्समाथि ५–१ को जित निकाल्दै भारतले दोस्रो पटक उपाधिमाथि कब्जा गरे ।

सन् १९९९ मा भारतको गोवामा आयोजना भएको साफ फुटबलको चौथो संस्करणमा नेपाली टोली चौथो बनेको थियो । समूह ‘बी‘ मा रहेको नेपालले श्रीलंकालाई ३–२ ले हराउंदा नरेश जोशीको ह्याट्रिकले चर्चा बटुल्यो । दोस्रो खेलमा माल्दिभ्ससँग ३–२ ले हारेपनि सेमिफाइनल पुगेको नेपाललाई बंगलादेशले २–१ ले पाखा लगायो । त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा नेपाललाई माल्दिभ्सले नै २–० ले हाराएको थियो । फाईनलमा भने आयोजक भारतले बंगलादेशमाथि २–० को जित निकाल्दै उपाधि माथि ह्याट्रिक गरेका थिए ।

विविध कारणले दुई बर्षको अन्तरालमा प्रतियोगिता हुन नसकेपछि सन् २००३ मा बंगलादेशले साफको पाँचौ संस्करण आयोजना गरियो । जसमा पहिलो पटक सार्कमा आबद्ध सम्पूर्ण आठ राष्ट्र प्रतिस्पर्धामा उत्रेका थिए । उक्त संस्करणमा पनि नेपालको प्रदर्शन बिर्सनलायक बन्यो । समूह ‘बी‘ अन्तर्गत पहिलो पटक सहभागी भूटानलाई २–० ले हराए पनि बंगलादेशसँग १–० तथा माल्दिभ्ससँग ३–२ को हार आत्मसात गर्दै नेपाल समूह चरणबाटै बाहिरियो । पहिलो पटक टाईब्रेकरमार्फत विजेताको छिनोफानो भएको उक्त खेलमा बंगलादेशले माल्दिभ्सलाई ५–३ ले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

सन् २००५ मा पाकिस्तानले दोस्रो पटक आयोजना गरेको छैठो साफ प्रतियोगितामा पनि नेपाल समूह चरणबाटै बाहिरियो । समूह ‘बी‘ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग २–१ ले तथा बंगलादेशसँग २–० ले हारेको थियो । अन्तिम खेलमा भुटानमाथि ३–१ को जित निकाले पनि नेपाली टोली घर फर्कन बाध्य बन्यो । उक्त संस्करणको फाइनलमा बंगलादेशलाई २–० हराउँदै भारतले चौथो पटक उपाधि उचालेका थिए ।

सन् २००८ मा तीन बर्षको अन्तरालमा श्रीलंका र माल्दिभ्सले पहिलो पटक संयुक्त रुपमा साफ आयोजना गरेको थियो । जसमा पनि नेपाल समूह चरणबाटै बाहिरियो । समूह ‘ए‘ को पहिलो खेलमा भारतसँग ४–० तथा दोस्रो खेलमा माल्दिभ्ससंग ४–१ ले हारेको नेपालले अन्तिम खेलमा पाकिस्तानलाई ४–१ ले हराए पनि अन्तिम चारमा स्थान बनाउन सकेन । फाईनलमा भारतलाई १–० ले हराउँदै आयोजक माल्दिभ्सले पहिलो पटक प्रतिष्ठित उपाधि उचाल्न सफल भयो ।

सन् २००९ मा एक बर्षको छोटो अन्तरालमा नै बंगलादेशले आठौ साफ च्याम्पियनशिप आयोजना गरेको थियो । जसमा समूह ‘ए‘ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी तथा अफगानिस्तानलाई ३–० ले हराएको थियो । तर भारतसँग १–० ले भोगेको हारका कारण नेपालले समूह चरण पार लगाउन सकेन । उक्त संस्करणको फाईनलमा पनि टाईब्रेकरको सहारामा माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत पाँचौ पटक च्याम्पियन बनेको थियो ।

सन् २०११ मा भारतले नवौ सापÞm च्याम्पियनशिप आयोजना गरेको थियो । यसपटक भने नेपाली टोलीले १२ बर्ष पछि सेमीफाइनलको यात्रा सम्भव पार्यो । समूह ‘बी‘ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ तथा बंगलादेशलाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेपनि अफगानिस्तानसँग स्तब्ध हुनुपर्यो । नेपाली टोली सेमिफाइनलबाटै बाहिरिए पनि सागर थापाको उत्कृष्ट गोलले संसारभर निक्कै चर्चा पायो । फाईनलमा भने भारतले अफगानिस्तानलाई ४–० ले हराउँदै छैठो पटक उपाधि चुम्न सफल भयो ।

सन् २०१३ मा १६ बर्षपछि नेपालले साफ च्याम्पियनशिप आयोजना गरेको थियो । समूह ‘ए‘ मा रहेको नेपालले बंगलादेशलाई २–० तथा पाकिस्तानसँग १–१ को बराबरी तथा भारतलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको थियो । नेपालले ९० मिनेटभित्र भारतको सिनियर टोलीलाई पराजित गरेको यो नै पहिलो अवसर समेत बन्यो । तगारोको रुपमा रहँदै आएको अफगानिस्तानलाई सेमिफाईनलमा १–० ले नतिजा सुम्पेपछि आयोजक नेपालको चुनौती समाप्त भएको थियो । फाइनलमा भारतलाई २–० ले हराउँदै अफगानिस्तानले पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि उचाल्यो ।

सन् २०१५ मा भारतको केरलामा ११औं संस्करणको साफ च्याम्पियनसिप भएको थियो । उक्त संस्करणमा समूह ए मा भारत र श्रीलंकासँगै रहेको नेपालले बिर्सनलायक प्रदर्शन गरेका थिए । नेपाल अंकबिहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो । समूहको पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजय बेहोरेको नेपाल दोस्रो खेलमा पनि भारतसँग ४–१ ले पराजित भएको थियो । प्रतियोगिताको फाइनलमा भने अफगानिस्तानलाई २–१ ले हराउँदै भारत सातौं पटक च्याम्पियन बन्यो ।

सन् २०१८ मा बंगलादेशमा १२औ संस्करणको साफ आयोजना भएको थियो । यसपटक नेपालको फाईनल पुग्ने सम्भावना प्रबल थियो । यसपटक सेन्ट्रल एसियामा आबद्ध भएकाले अफगानिस्तान बाहेक अन्य ७ राष्ट्रले प्रतिस्पर्धा गरेको थियो । जसमा भारतले पनि आफ्नो सिनियर टोली ठाउंमा २३ वर्ष मुनिका खेलाडीलाई बंगलादेश पठाएका थिए । त्यसका बावजूद पनि नतिजा नेपालको अनुकुल हुन सकेन ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भूटानलाई ४–० ले र त्यसपछि आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपालले पुनः एकपटक सेमीफाइनलको यात्रा गरेको थियो । तर, माल्दिभ्ससँग ३–० को फराकिलो गोलअन्तरले पराजित भएपछि नेपालको यात्रा सेमीफाइनलबाटै टुंगियो ।

प्रतिक्रिया दिनुहोस्