खेलाडी ट्रान्सफरमा क्लबहरु कसरत गर्दै



लन्डन, (एजेन्सी)

हाल कोरोना भाइरसको कारण सबै लिग ठप्प रहेको छ । यही मौकामा युरोपियन क्लबहरु खेलाडी ट्रान्सफरमा कसरत गरिरहेका छन् ।
तर खेलाडीको चर्को मूल्यका कारण क्लबहरु रकम लगानी गर्न पनि डराइरहेका छन् । यस्तैमा जाडोन सान्चो विश्व फुटबलमा चर्चित नाममध्येका एक खेलाडी हुन् । बुन्डेसलिगाको बोरुसिया डर्टमन्डका सान्चोको भविष्यबारे यति बेला सबैको चासो रहेको छ । उनी डर्टमन्डमै रहनेछन् वा जर्मन लिगबाट बाहिर जानेछन् यसैमा सबैको नजर रहेको हो ।

स्वार्जेल्बेन उनलाई क्लबमा दोस्रो सर्वाधिक कमाउने खेलाडी बनाउन तयार छन् । उनीहरुलाई विश्वास छ कि उनले प्रस्ताव स्वीकार गर्नेछन् । डर्टमन्डले उनलाई ४ मिलियन युरो बढी दिने तयारी गरेको छ । बुन्डेसलिगामा बायाँ विंगर सान्चोले १४ पटक जाली चुमाएका छन् भने एसिस्ट १६ रहेको छ । केवल २३ खेलमा उनले प्रत्येक १२९ मिनेटमा गोल गरे भने हरेक ६९ मिनेटमा गोल हुनमा संलग्न भएका छन् ।

उता इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले सान्चोलाई आ–आफ्ना क्लबमा भित्र्याउन लागि परेको डेली एक्सप्रेसले जनाएको छ । उनको ट्रान्सफर मूल्य १ सय मिलियन पाउन्ड रहेको छ । युनाइटेडले कोरोना भाइरसको महामारीका कारण सो मूल्यभन्दा कममा अनुबन्ध गर्ने चाहेको छ ।
यसै गरी हालको सर्वाधिक चर्चित खेलाडीमध्येमा नर्वेका स्ट्राइमर अर्लिङ हालान्ड पनि हुन् । हालान्डलाई युनाइटेड र रियल मेड्रिडले लिन चाहेका छन् ।

क्लब र देशमा गरी ५ सय २५ खेल खेल्दै उनले २ सय ५९ गोल गरेका छन् । उनको मूल्य २६० मिलियन पाउन्ड रहेको छ । उनको विषयमा इटालियन लिजेन्ड क्रिस्टियन भेइरीले बताएका छन्– ‘यस्तै राम्रो प्रदर्शन भइरहेमा भविष्यमा उनको मूल्य २ सय मिलियन वा ३ सय मिलियन डलरसम्म पुग्नेछ । उनको लागि बोरुसिया डर्टमन्ट सही क्लब रहेको छ ।’

हालान्डले युरोपका ठूल्ठूला तथा धनी क्लबको प्रस्ताव अस्वीकार गर्दै केवल १७ मिलियन पाउन्डमा बुन्डेसलिगाको टोलीमा आबद्ध भएका थिए । डर्टमन्डमा युवा खेलाडीले राम्रो गरिरहेका छन् । जसमा मारियो गोट्जे, क्रिस्टियन पुलिसिक रहेका छन् । हाल जाडोन सान्चोले पनि क्लबमा उन्नति गरिहेका छन् ।
हालान्डले साल्जबर्गमा २७ खेलबाट २९ गोल गरेका थिए । हाल उनले जर्मनीमा पहिलो ११ खेलमा १२ गोल गरेका छन् । उनले डर्टमन्डमा पाँच वर्षका लागि अनुबन्ध भएका हुन् । तर क्लबले २०२२ सम्म उनलाई कसैले चाहेर पनि लिन नसक्ने जनाएको छ । यदि कुनै टोलीले रिलिज क्लाउज तिर्न सकेमा मात्रै उनको जर्मनी बसाई छोटिनेछ, तर जर्मन क्लबले ठूलै राशि माग्न सक्नेछ ।

युनाइटेडका मेनेजर ओले गनर सोल्स्कजारले गत वर्ष हालान्डलाई लिन खोजेका थिए । तर सोल्स्कजारको प्रस्तावलाई उनले सीधै अस्वीकार गरिदिएका थिए । यदि अर्को वर्ष उनी ६३ मिलियन पाउन्डमा उपलब्ध भएमा युनाइटेडले सम्भवतः क्लबमा भित्र्याउन सक्नेछ । यसपटक भने युनाइटेडसँगै रियलले पनि उनीमाथि नजर गरिरहेको छ ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युनाइटेडका खेलाडी पउल पोग्बालाई प्रस्ताव राखेको छ । पेरिस अखबारले जनाएअनुसार २०१८ विश्वकप विजेतालाई उनको घरेलु सहरमा फर्काउने पीएसजीको चाहना छ । फ्रेन्च लिग वान टोलीले एन्जेल डी मारिया र जुलियन ड्राक्सिएरसँग पोग्बा साट्ने योजना बनाएको छ । यसैबीच इटालियन क्लब युभेन्टस् र स्पेनी क्लब रियल मेड्रिड पनि पोग्बालाई सम्झौता गर्न इच्छुक छन् ।

यसैगरी ला लिगा च्याम्पियन बार्सिलोनाले दुई खेलाडी दिएर टोटनहामका फ्लप खेलाडी एनडोम्बेलेलाई क्लबमा भित्र्याउन तरखर गरिरहेको छ । युरोपियन लिग फुटबलमा यो एउटा स्तब्ध सम्झौताको रुपमा हेरिएको छ । क्याटलान महारथीले ५५ मिलियन पाउन्डको एनडोम्बेलेलाई सीधै किन्न नसक्ने जनाए । यसैले उनीहरुले सेन्टर ब्याक स्यामुल उमिटी, नेल्सन सेमेडो वा मिडफिल्डर आर्थरसँग साटफेर गर्न टोटनहामलाई बताएका छन् ।

तर स्पर्स (टोटनहाम) ले बार्सिलोनाको प्रस्तावले प्रभावित नभएको जवाफ फर्काएको छ । स्पर्सले गत समरमा ६५ मिलियन पाउन्डमा लायनबाट फ्रेन्च मिडफिल्डरलाई किनेको थियो । तर एनडोम्बेलेले क्लबको अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । टोटनहामले उनीमाथि लगानी गरेको रकम असुल्न खोजिरहेको छ । एनडोम्बेलेले यस सिजनमा सबै गरी २७ खेल खेलेका छन्, जसमा दुई गोल मात्रै उनको खातामा रहेको छ ।

बार्सिलोनाका अर्थरको मूल्य ४८ मिलियन पाउन्ड रहेको छ । उनी इन्टरमिलानको हिटलिस्टमा रहेका छन् । यसैले पनि युरोपियन लिगका क्लबहरुले यो अचम्मको साटफेरको प्रस्तावमा प्रश्नचिन्ह लगाएका हुन् । टोटनहामका मेनेजर जोजे मौरिन्होले अर्थरलाई सम्झौता गर्न उत्सुक रहेको भन्दै बताए– ‘एनडोम्बेलेलाई बेच्न चाहेको त होइन तर राम्रो रकम आएमा यसमा विचार गर्न सकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्