फ्रेन्च ओपनका सर्वाधिक सफल नाडाल



कविरस शर्मा

वर्षको दोस्रो ग्रान्डस्लाम टेनिसबाट परिचित फ्रेन्च ओपनको मिति दोस्रो पटक सरिसकेको छ । रोल्यान्ड ग्यारोसको क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन टेनिसको १ सय २४औं संस्करणको मिति कोरोना भाइरसका कारण दोस्रो पटक सारिएको हो । यो वर्षको २४ मे देखि ७ जुन सम्म तय भएको फ्रेन्च ओपन अब २७ सेप्टेम्बरदेखि ११ अक्टोबरसम्म हुने भएको छ ।

यो पहिलो पटक सारिएको मिति भन्दा एक साता पछाडि हो । यसअघि २० सेप्टेम्बरदेखि ४ अक्टोबरसम्मका लागि पहिलो पटक मिति सारिएको थियो । यसअघि कोरोनाका कारण वर्षको दोस्रो ग्रान्डस्लाम विम्बलडन रद्द भएको थियो । त्यस्तै वर्षको चौथो ग्रान्डस्लाम यूएस ओपन आयोजना हुनेमा पनि अन्योल कायमै छ ।

१ सय २९ वर्ष लामो इतिहास बोकेको फ्रेन्च ओपनको मिति यसरी सारिएको यो पहिलो घटना हो । यसअघि दोस्रो विश्वयुद्धका कारण सन् १९४० देखि १९४५ सम्म फ्रेन्च ओपन रद्द गरिएको थियो । फ्रेन्च ओपनको कुरा गर्दा स्पेनिस टेनिस स्टार राफाल नाडालको नाम अग्रपक्तिमा आउने गर्छ । क्ले कोर्ट किङ्ग उपनामले परिचित राफाल नाडाल ।

फ्रेन्च ओपनको पुरुष एकलतर्फका डिफेन्डिंग च्याम्पियन हुन् नाडाल । उनले सर्वाधिक १२ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । नाडाल सामू फेडेरर र जोकोभिच फिका नाडाल सर्वाधिक फ्रेन्च ओपनको उपाधि जित्ने खेलाडी हुन् । नाडालले १२औं पटक फ्रेन्च ओपनको उपाधि जितेर कीर्तिमान रचेका छन् । तर अर्कोतिर उनलाई कडा टक्कर दिने खेलाडी हुन् रोजर फेडेरर र नोभाक जोकोभिच ।

गत साल सेमिफाइनलसम्म पुगेको स्विट्जरल्यान्डका फेडेररले ४ वर्षपछि फ्रेन्च ओपन खेलेका थिए । त्यसअघिका नतिजालाई आधार मान्ने हो भन्ने फेडेरर उच्च फर्ममा रहंदा पनि नाडाललाई फ्रेन्च ओपनको फाइनलमा हराउन नसकेको इतिहास छ । गत वर्षको सेमिफाइनलमा फेडेररको भिडन्त नाडालसंगै भएको थियो । तर, नाडाललाई पराजित गर्ने उनको धोको त्यतिबेला भने पूरा हुन सकेन ।

फेरि एकपटक नाडालसंग पराजित हुंदै उनी प्रतियोगिताबाट बाहिरिएका थिए । त्यसअघि सन् २००६, २००७, २००८ र २०११ को फाइनलमा पनि उनले नाडालसँगै खेल गुमाएका थिए । तर, सन् २००९ मा भने नाडाल फाइनल पुग्न नसकेको संस्करणमा फेडेररले बाजी मारेका थिए । त्यो फेडेररले उचालेको अहिलेसम्मकै एकपटक मात्र फेन्च ओपनको उपाधि हो ।

त्यसैगरी टेनिसका अर्का विश्व चर्चित खेलाडी हुन् नोभाक जोकोभिच । सर्बियाका यी महान् टेनिस खेलाडीका लागि पनि नाडालको चुनौती सहज हुने गरेको छैन । उनी पनि सन् २०१२ र २०१४ को फ्रेन्च ओपन फाइनलमा नाडालसंग पराजित भएका थिए । फेडेररले झैं जोकोभिचले पनि सन् २०१६ मा एकपटक मात्र फ्रेन्च ओपन उपाधिमा आफ्नो नाम लेखाएका छन् । गत वर्ष पनि उनी दोस्रो पटक उपाधिको खोजीमा रोल्यान्ड गेरोस पुगेका थिए । तर, सेमिफाइनलमा अष्ट्रियाका डोमिनिक थिमसंग पराजित हुंदै बाहिरिए ।

यी तीनै जनाले विगतमा गरेको प्रदर्शनलाई मूल्याङकन गर्ने हो भने सर्वाधिक ग्रान्डस्लाम जित्ने ३७ वर्षीय फेडेरर अग्रपंक्तिमा आउंछ । उनी २० वटा ग्रान्डस्लाम जितेर सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने सूचीको पहिलो स्थानमा छन् । तर नाडाल पनि उनी भन्दा धेरै पछाडि भने छैनन् । १९ वटा ग्रान्डस्लाममा नाडालले आफ्नो नाम लेखाइसकेका छन् । जोकोभिचको ग्रान्डस्लाम उपाधि संख्या भने १७ रहेको छ ।

ग्रान्डस्लाम संख्या फेडेररको भन्दा अधिक रहेपनि नाडाललाई क्ले कोर्टमा हराउन भनेको फलामको च्यूरा चपाउनु सरह हो । ३३ वर्षीय नाडालले गत वर्ष १२औं पटक फ्रेन्च ओपन उपाधि उचाल्न सफल भयो । एउटै ग्रान्डस्लाम १२ पटक जितेर धेरै पटक एउटै उपाधि जित्नेनाडाल दोस्रो खेलाडी समेत बनेका छन् । यसअघि मार्गेरेट कोर्टले १९६० देखि १९७३ को बीचमा ११ पटक अस्टे«लियन ओपन जितेर दुर्लभ कीर्तिमान रचेकी थिइन् ।

मेन्स सिंगल्सतर्फ २००५ देखि २०१९ सम्मका फ्रेन्च ओपन विजेता र उपविजेता

२००५ राफाल नाडाल मारियानो प्युर्टा (अर्जेन्टिना)
२००६ राफाल नाडाल रोजर फेडेरर
२००७ राफाल नाडाल रोजर फेडेरर
२००८ राफाल नाडाल रोजर फेडेरर
२००९ रोजर फेडेरर रोबिन सोडरलिंग (स्विडेन)
२०१० राफाल नाडाल रोबिन सोडरलिंग
२०११ राफाल नाडाल रोजर फेडेरर
२०१२ राफाल नाडाल नोभाक जोकोभिच
२०१३ राफाल नाडाल डेभिड फेरर (स्पेन)
२०१४ राफाल नाडाल नोभाक जोकोभिच
२०१५ स्टान वावरिन्का नोभाक जोकोभिच
२०१६ नोभाक जोकोभिच एन्डी मरे (ब्रिटेन)
२०१७ राफाल नाडाल स्टान वावरिन्का (स्विट्जरल्यान्ड)
२०१८ राफाल नाडाल डोमिनिक थिएम (अस्ट्रिया)
२०१९ राफाल नाडाल डोमिनिक थिएम (अस्ट्रिया)

प्रतिक्रिया दिनुहोस्