दोस्रो पटक फ्रेन्च ओपनको मिति सर्यो



पेरिस, एजेन्सी।

वर्षको दोस्रो ग्रान्डस्लाम टेनिसबाट परिचित फ्रेन्च ओपनको मिति दोस्रो पटक सारिएको छ।क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन टेनिसको १ सय २४औं संस्करणको मिति कोरोना भाइरसका कारण दोस्रो पटक सरिएको हो।

यो वर्षको २४ मे देखि ७ जुनसम्म तय भएको फ्रेन्च ओपन अब २७ सेप्टेम्बरदेखि ११ अक्टोबरसम्म हुने भएको छ। यो पहिलो पटक सारिएको मिति भन्दा एक साता पछाडि हो। यसअघि २० सेप्टेम्बरदेखि ४ अक्टोबरसम्मका लागि पहिलो पटक फ्रेन्च ओपनको मिति सारिएको थियो।

एटीपी र डब्लूटीएको आग्रहपछि फ्रेन्च ओपनका आयोजकले मिति सार्न राजी भएको बताइएको छ। यसअघि कोरोनाका कारण वर्षको दोस्रो ग्रान्डस्लाम विम्बलडन रद्द भएको थियो।

स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपनको पुरुष एकलतर्फका डिफेन्डिंग च्याम्पियन हुन्। उनले सर्वाधिक १२ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। त्यस्तै क्रिस ईभर्ट सर्वाधिक ७ पटक फ्रेन्च ओपनको उपाधि जित्ने महिला खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्