न्युक्यासलमा प्रतिभावान खेलाडी आबद्ध हुन सक्ने



लन्डन, एजेन्सी।

न्युक्यासल युनाइटेडका मालिक परिवर्तन हुने भएपछि प्रिमियर लिग क्लबले प्रतिभावान खेलाडी भित्र्याउने अपेक्षा गरेको छ । साउदी अरेबियाद्वारा ३ सय मिलियन पाउन्डको प्रस्तावपछि क्लब प्रिमियर लिगमा धनी क्लबमध्ये एक बन्न नजिक पुगेको हो । विवादास्पद मालिक माइक एश्लीले साउदी अरेबियाको प्रस्तावलाई स्विकार गरेका थिए । टोलीले शीर्ष खेलाडीलाई आकर्षित गर्नेमा डिमिटार बेर्बाटोभले विश्वास गरेका छन् ।

न्युक्यासलका वर्तमान मालिक स्टिभ ब्रुसले क्लबको जिम्मा लिएपछि हाइ प्रोफाइल खेलाडीलाई अनुबन्ध गर्न सक्नेछ । अर्को समरमा युभेन्टसका पूर्व मेनेजर मेसीमिलीयानो एलेग्री, पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एडिसन काभानी क्लबमा भित्रयाउने लक्ष्यमा परेका छन् ।

यस्तै टोटनहाम र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी बेर्बाटोभले गेरेथ बेल र काभानी जस्ता ठूला खेलाडीलाई आकर्षित गर्न सक्ने बताएका छन् । माउरिसियो पोकेटिनोलाई क्लबमा मेनेजरमा ल्याउने हल्ला पनि चलेको छ । उनले भने—यदि पोकेटिनो सो क्लबमा गएमा उनले ठूला खेलाडीलाई क्लबमा भित्रयाउनेछन् । मलाई लाग्छ गेरेथ बेल न्युक्यासलमा आउनेछन् । थप अन्य राम्रो खेलाडी आएमा न्युक्यासलले प्रिमियर लिगमा राम्रो नतिजा निकाल्छ भन्ने मेरो विश्वास छ ।

बेललाई जिनेदिन जिदानले रियल मेड्रिडको ढोकाबाट बाहिर निकाल्न ठिक गरिसकेका छन् । उनी गत सिजनमै चाइनिज सुपर लिगमा स्थानान्तर हुन लागेका थिए । केही कारण वश उनी त्यहाँ शिफ्ट हुन सकेनन् । जिदानको विश्वास गुमाइसकेका वेल्श स्टारले नयाँ तरिकाले आफ्नो करियर शुरु गर्न खोजिरहेका छन् । यसका लागि पहिलो छनोट भनेको न्युक्यासल हुने चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्