केन्या विश्वकप छनोटबाट बाहिरिने संकेत



नैरोबी, (एजेन्सी)

केन्या फिफा विश्व कप छनोट खेल खेल्नुअघि नै निष्कासन हुने सम्भावना भएको छ । केन्या फुटबल महासंघ (एफकेएफ) ले बीबीसीलाई बताएको थियो कि उनीहरुसँग भुक्तानको अवधि पूरा गर्न कोष छैन, जसको नतिजा प्रतिस्पर्धाबाट तुरुन्तै बाहिरिनेछ ।

एफकेएफले पूर्वप्रशिक्षक अडेल अम्रोचलाई एक मिलियन डलर शुक्रबार अप्रिल २४ सम्म तिर्नुपर्ने डेडलाइन दिइएको बताएको थियो । यो आदेश कोर्ट अफ आर्बिटे«सन फर स्पोर्ट (कास) ले गत अक्टोबरमा जारी गरेको थियो ।

उनीहरुलाई फिफाले भनेको छ कि यदि रकम भुक्तानी गरेन या अम्रोचले अन्तिम म्याद थप्न मानेनन् भने केन्या विश्वकप क्वालिफायरबाट बाहिरिनेछ । अम्रोचले बीबीसीलाई कुनै म्याद बढाउनेमा राजी नहुने बताएका छन् ।

तर एफकेएफका अध्यक्ष निक मेवेन्डवाले विश्वकप क्वालिफायरबाट बाहिर हुनु संसारको अन्त्य होइन भनेका छन् । उनले भने– ‘हामीसँग पैसा छैन र कोभिड–१९ को समस्यासँगै हामीले खेलाडीले तलब लिन पाएका छैनन् । सरकार बहिरो बन्नु पनि बुझ्न सकिन्छ किनभने त्यहाँ संकट छ ।’

यो मुद्दा कासद्वारा सुनाएको आदेशबाट उठेको छ कि २०१४ मा अम्रोचलाई गलत तरिकाले बर्खास्त गरिएको थियो । ५ वर्षका लागि सम्झौता भएकोमा अफ्रिकी कप अफ नेसन्स क्वालिफायरमा लेसोथोसँग १–० को हारसँगै १८ महिनामा उनलाई बर्खास्त गरिएको थियो । अम्रोचले कानुनी कारबाही शुरू गरे । गत अक्टोबरमा १ मिलियन डलरमा पुगेको थियो जुन अप्रिल २४ सम्म तिर्न सकिन्छ ।

केन्या विश्वकप क्वालिफायरअन्तर्गत अफ्रिकी महादेशतर्फ समूह ‘ई’ मा माली, युगान्डा र रुवान्डासँगै रहेको छ । विश्वकपमा छनोट हुन सकेमा केन्यालाई आर्थिक टेवा मिल्न सकिन्छ । यदि छनोट भएमा खेल्न अघि नै एफकेएफको हातमा ९.५ मिलियन डलर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्