हँसिला रोनाल्डिन्हो गोलदेखि जेलसम्म



फिरोज राजोपाध्याय, काठमाडौं ।

विश्वकप २००२ को क्वार्टरफाइनल खेल थियो ब्राजिल र इंग्ल्यान्डबीच । शुरुआती अग्रता लियो इंग्ल्यान्डले । तर इंग्ल्यान्डको जितमा बाधक बने हँसिला रोनाल्डिन्हो । ब्राजिलले उनको एसिस्टमा बराबरी गोल फर्कायो भने उनकै अविश्वसनीय फ्रिकिक गोलमा अग्रता लिएको थियो ।

उनले सो खेलमा वान म्यान पावर देखाएका थिए । उनी एल्लो र रेड कार्डको भागीदारी भए । तर त्यतिञ्जेल उनले ब्राजिललाई २–१ को जित सुनिश्चित गरिसकेका थिए ।

रोनाल्डिन्होको भूमिकाले सो विश्वकपमाथि ब्राजिलले उपाधिसमेत जित्यो । यो अविस्मरणीय क्षणपछि रोनाल्डिन्होको विश्व फुटबलमा एउटा उत्कृष्ट फुटबलरको रुपमा जन्म भयो । उनी फुटबलको इतिहासमा महान् खेलाडीमध्ये एक खेलाडीसमेत बने । २००२ मा विश्वकप विजेता, सन् २००५ मा बेलन डी अर अवार्ड तथा २००४ र २००५ गरी लगातार दुईपटक फिफा फुटबलर विजेता बने उनी । यसैले उनलाई ब्राजिलका महान् खेलाडी पेले र रोनाल्डोसँगै राखियो पनि ।

२००८ देखि भने रोनाल्डिन्होको जीवनमा फरक देखियो । बार्सिलोनामा रहेका त्यति बेला उनी पिएर अभ्यासमा आउने भन्ने आरोप लागेको थियो । यही कारणले उनलाई बार्सिलोनाले छिटोछिटो बेचेको थियो ।

रोनाल्डिन्होबारे बार्सिलोनाका उनका पूर्वसाथी खेलाडी एलेन्सान्डर हलेबले क्लबले सन् २००८ मा रोनाल्डिन्होलाई बेच्नुको कारणबारे खुलासा पनि गरेका थिए । उनले भोका टिभीलाई एक अन्तर्वार्तामा बताएका थिए– ‘उनी अभ्यासमै पिएर आएपछि बार्सिलोनाले बेचेको हो, मेसीलाई पनि बिगार्ला भनेर उनीहरु (क्लब) डराएका थिए ।

यस्तै दुई वर्षअघि रोनाल्डिन्होले एकैपटक दुई प्रेमिकासँग बिहे गरेको विषयलाई पनि ब्राजिली सञ्चार माध्यमले दाबी गरेको थियो । उनको प्रेमिका प्रिससीलीयाकोएल्हो र बीट्रीज सौजासँग एकैपटक प्रेम चलेको थियो । दुवैलाई अलगअलग बेडरुम पनि दिएको जनाइएको थियो । रोनाल्डिन्होले भने यसलाई अस्वीकार गरेका थिए । तर बिहे समारोहमा उनकी बहिनीसमेत रिसाएर सहभागी नहुनाले उनले झूटो बोलेको प्रस्ट थियो ।

महँगो महँगो उपहार दिन पनि पछि नहट्ने रोनाल्डिन्होले यही कारणले सम्पत्ति सकाएको पनि जनाइएको छ । खेलेर र विज्ञापनबाट करोडौं कमाएका उनको खातामा हाल ५ पाउन्ड मात्रै रहेको ब्राजिली अधिकारीले जनाएका थिए । उनीहरुले जनाएअनुसार रोनाल्डिन्होमाथि २ मिलियन पाउन्ड ऋण रहेको छ । यो रकम नतिरेसम्म उनी ब्राजिल छाडेर जान पाउने पनि छैनन् । तर उनी अहिले पाराग्वेमा गएपछि जेलमा पुगेका छन् ।

जाली पासपोर्टको आरोपमा रोनाल्डिन्हो र उनका दाजु असिस पाराग्वेमा हिरासतमा छन् । यो मुद्दा भने खेलभन्दा अलग रहेको छ, । यसबाट उनीहरुले छिटै मुक्ति पाउन सक्ने अवस्था छैन । यो मुद्दा सेप्टेम्बर ६ सम्म अनुसन्धान हुने र फेरि ६ महिनाको समय बढाउन सक्ने पाराग्वेका वकिलहरुले जनाएका छन् ।

यदि पर्याप्त प्रमाण पाए भने उनीहरु जेल चलान हुनेछन्, जसको सजाय बढीमा ५ वर्षको जेल हुनेछ । हाँसेर विश्वलाई मोहित पारेका व्यक्तिको भविष्य अहिलेको क्षणमा निकै अँध्यारो हुँदै गएको छ । रोनाल्डिन्होका वकिल सर्जियो क्विरोजले पक्राउ गैरकानुनी भएको दावी गरेका थियो ।

रोनाल्डिन्हो र उनका दाजु मार्च ४ मा पाराग्वेको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनीहरु सीधै भीआईपी कोठामा गएका थिए । त्यहाँ उनीहरुले व्यवसायीहरु विलमोन्डेस साउसालिरा र डालिया लोपेजसँग भेटेका थिए ।

दाजुभाइले डकुमेन्टहरु हस्तान्तरण गरेका थिए । रोनाल्डिन्होले लोपेजको बालबालिकाको च्यारिटी संस्थामा आफ्नो पुस्तक जिनियस अफलाइफको प्रवद्र्धन गर्न पुगेका थिए । उनीहरुलाई लोपेजका साथी, क्यासिनो मालिक नेल्सन बेलोटीले आमन्त्रण गरेका थिए ।

तर पाराग्वेका प्रहरीका अनुसार दुई महिनाअघि दुईवटा पासपोर्ट इस्यु गरेकोमा पाराग्वेका दुई महिलाको नाममा रहेको थियो । सोही पासपोर्टमा रोनाल्डिन्हो र उनका दाजुको नाम र फोटो राखिएको देखिएकोे प्रहरीले जनाएको छ । पहिला त रोनाल्डिन्हो र आसिसको अनुहार ठीकै लागेको थियो । तर दुई दिनपछि न्यायाधीशले उनीहरुलाई पक्राउ गर्न आदेश जारी गरेका थिए ।

ब्राजिलको स्रोतले बताएको छ– ‘रोनाल्डिन्होलाई बुझ्न सकिन्छ, उनले फुटबल खेल्छन्, उनको दाजु पनि एक राम्रो फुटबलर हुन्, रोनाल्डिन्हो शतप्रतिशत भलादमी मान्छे हुन्, तर उनका दाजु आसिस यस किसिमका मान्छे होइनन्, दिमाग उसैको हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्