ग्वांगजाउमा भव्य रंगशाला निर्माण हुने



ग्वांगजाउ, (एजेन्सी)।

चीनमा कोरोनाभाइरसको कारणले बिग्रेको अवस्था अब सुध्रिएको छ । विश्वभरि फैलिएको भाइरसको सहर वुहान पनि खुल्ला गरिएको छ । यसैबीच चीनको एक रियल स्टेट समूह एभरग्राउन्ड कम्पनीले विश्वकै सबैभन्दा ठूलो फुटबल रंगशाला बनाउन गइरहेको छ । १ लाख दर्शक अटाउने गरी निर्माण हुने रंगशालाको लागि १.७ अर्ब डलर खर्च हुने जनाएको छ ।

हाल विश्वमा सबैभन्दा ठूलो रंगशाला बार्सिलोनाको नउक्याम्प रंगशाला हो । सो रंगशालामा करिब ९९ हजार भन्दा बढी दर्शक अटाउँछन् । ग्वांगजाउमा तयार हुन गइरहेको रंगशाला सन् २०२२ सम्म बन्ने एभरग्राउन्डका अध्यक्ष शिया हुजैनले बताए ।

उनको लक्ष्य सिडनीको ओपेरा हाउस र दुबईको बुर्ज खलीफा जस्तै भवन बनाउने हो । उनका अनुसार यसले चीनको फुटबलको नयाँ पहिचान बन्नेछ । उनले भने–मलाई आशा छ कि २०२३ को एसियन कपको उदघाटन समारोह यही हुनेछ ।

कमलको फूल आकार

ग्वांगजाउलाई फ्लावर सिटी भनेर चिनिनछ । यसैले यो रंगशालाको आकार कमलको फूल जस्तै हुनेछ । यसलाई सांघाईका अमेरिकी डिजाइनर सईद हसनले तैयार गरेका छन् । यसको निर्माण क्षेत्र करिब ३ लाख स्क्वायर मिटर हुनेछ । यसमा कूल १६ भीभीआईपी कोठा, १५२ निजी कोठा, फिफा सदस्य र खेलाडीका लागि अलग क्षेत्रमा तथा मिडिया कोठा पनि हुनेछन् ।

अरु तीन रंगशाला बनाउने योजना

ईएसपीएनको अनुसार रियल स्टेट समूह एभरग्राउन्डले चीनमा ८० हजार देखि १ लाखसम्म अट्ने थप तीन रंगशाला निर्माण गर्ने योजना बनाइरहेको छ । यस्ता ठूल्ठूला रंगशालाबाट चीनले भविष्यमा विश्वकप फुटबलको आयोजना गर्न पनि दावी गर्नेछ । यही साल फिफा क्लब वल्र्ड कप हुनुपर्ने थियो, तर कोरोना भाइरसको कारण १ वर्षको लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्